हैजा संक्रमण नियन्त्रणमा लाग्न गृहमन्त्री खाँणको निर्देशन

असार ११, २०७९ मा प्रकाशित | 331 views

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा देखा परेको हैजा रोगको नियन्त्रणमा लाग्न निर्देशन दिएका छन् । शनिबार सम्बन्धित निकायका प्रमुखहरु र सुरक्षा निकायका प्रमुखहरूबाट हैजा रोगको संक्रमणबारे जानकारी दिँदै सम्भावित महामारी फैलिन नदिनका लागि सबै सतर्कता अपनाउन निर्देशन दिएका हुन् । गृहमन्त्री खाँणले त्यसको रोकथाम र उपचारको पूर्वतयारीका बारेमा समेत जानकारी लिएका छन् ।

छलफलमा स्वास्थ्य सचिव डा.रोशन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, प्रहरी अस्पतालका प्रमुख डाक्टर आशा सिंह, सशस्त्र प्रहरी अस्पतालका प्रमुख रुपक महर्जन लगायत सहभागी थिए ।

गृहमन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईका अनुसार छलफलमा मन्त्री खाँणले उपत्यकामा खानेपानीको अवस्था, त्यसको परीक्षण भए/नभएको र सम्भावित संक्रमणबाट बच्न भइरहेका गतिविधि र संक्रमित बिरामीहरूको अवस्थाबारे जिज्ञासा राखेका थिए । सशस्त्र प्रहरी अस्पतालका प्रमुख डाक्टर महर्जनले कलेराको अहिलेको अवस्था र रोकथामबारे भएका तयारीबारे मन्त्री खाँणलाई जानकारी गराएका थिए ।

मन्त्री खाँणले संक्रमणको अवस्था जटिल बनेको अवस्थामा कसरी रोकथाम र नियन्त्रण गर्ने भनेर समेत जिज्ञासा राखेका थिए । उनले त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयोजनमा प्रहरी र सशस्त्र प्रहरीका चिकित्सकहरूले समेत रोकथाम र नियन्त्रणको तयारीमा रहनुपर्ने बताए ।

‘प्रहरी र सशस्त्र प्रहरीका ब्यारेकमा खानेपानीको अवस्थाबारे जानकारी लिँदै मन्त्री खाँणले प्रहरी जवानहरूलाई नै हैजाले प्रभावित पार्न सक्ने’ भन्दै त्यसतर्फसमेत सचेत हुन आग्रह गरे ।

हाल काठमाडौं उपत्यकाको बागबजार, डिल्लीबजार, सानेपा लगायत क्षेत्रमै हैजाको संक्रमण देखा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web