महानगर र प्रभावित क्षेत्रका बासिन्दाबीच सहमतिसँगै काठमाण्डौको फोहर आजदेखि उठ्ने

जेष्ठ २७, २०७९ मा प्रकाशित | 266 views

काठमाडौँ । काठमाण्डौका सडक र चोकमा थुप्रिएका फाेहर आजदेखि उठ्ने भएको छ ।

काठमाण्डौ महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीय बासिन्दाबीच गएराति सहमति भएसँगै आजदेखि फाेहर उठ्ने भएको हो ।

स्थानीय बासिन्दाका लागि महानगरले नियमित बजेट छुट्याउनुपर्नेदेखि पूर्वाधार निर्माणसम्मको सहमति भएको छ । राति ढुवानी गर्दा आवश्यक बत्ती तथा बाटोको निर्माण महानगरपालिकाले तीन महिनाभित्र गर्ने सहमति भएको छ ।

यस्तै सिसडोल तथा बन्चरे डाँडामा फाेहरको दुर्गन्ध नआउने गरी काठमाण्डौ महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, फाेहरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गर्ने, फाेहर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था एक महिनाभित्र मिलाउने सहमति पनि भएको छ ।

सहमति कार्यान्वयन र फाेहर व्यवस्थापन सँगसँगै हुने ल्यान्डफिल साइट प्रभावित क्षेत्रमा पर्ने नुवाकोटको ककनी गाउँपालिकाका वडा नं. १ का वडाध्यक्ष पदमबहादुर श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार सडकमा थुप्रिएको फाेहर व्यवस्थापन भएपछि फाेहर ढुवानी रातिको समयमा मात्रै गर्ने सहमति भएको छ ।

सहमति पत्रमा काठमाण्डौ महानगरमा मेयर बालेन्द्र साह, उपमेयर सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल तथा प्रभावित क्षेत्रमा पर्ने ककनी गाउँपालिका-१ का वडाध्यक्ष पदमबहादुर श्रेष्ठ, वडा २ का वडाध्यक्ष तिलकबहादुर लामा, धुनिबेसी गाउँपालिका-१ वडाध्यक्ष मानबहादुर तामाङ र ३ का वडाध्यक्ष प्रकाश हमालले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web