आईजीपी विवादको सुनुवाइ जेठ ३० गते

जेष्ठ १७, २०७९ मा प्रकाशित | 252 views

काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध दायर भएको रिट निवेदनको सुनुवाइ यही जेठ ३० गते हुने भएको छ ।

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको संयुक्त इजलासमा पेसी तोकिएको भए पनि म्याद तामेल नभएको कारण सुनुवाइ हुन सकेन ।

आदेशमा रिट निवेदनका विपक्षीहरू प्रहरी सेवाका उच्च पदाधिकारी रहेको र उनीहरूकै नामको म्यादसमेत तामेल हुन नसकेको गम्भीर अवस्था देखिएको उल्लेख छ ।

यसअघि न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले गएको वैशाख २२ गते मुद्दाको अन्तिम सुनुवाइ आजदेखि हुने आदेश दिएको थियोे । त्यो इजलासले सरकारका तर्फबाट अन्तिम सुनुवाइका लागि लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

आदेशमा तोकिएको दिनमा नै अन्तिम सुनुवाइ गरिने र त्यो मिति सार्न नपाइने उल्लेख थियो । त्यही आदेशअनुसार सुनुवाइ तय भएको थियो ।

सरकारले आईजीपीमा धीरजप्रताप सिंहलाई बढुवा गरेपछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले वरिष्ठता क्रममा तेस्रो व्यक्तिलाई बढुवा गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियोे ।

एआईजी पोखरेलले दायर गर्नुभएको रिट निवेदनसँगै आज सुनुवाइका लागि सिंहसहित तीन जनालाई एआईजी बढुवा गर्ने निर्णयविरुद्ध तीन जना डीआईजीले दायर गरेको रिट निवेदनलाई साथै राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web