अबदेखि मौसम सफा नभएसम्म उडान अनुमति नदिइने

जेष्ठ १७, २०७९ मा प्रकाशित | 283 views

अबदेखि मौसम सफा नभएसम्म उडान अनुमति नदिइने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमान प्रस्थान गर्ने विमानस्थल र गन्तव्य विमानस्थलको मौसम सफा नभएसम्म जहाजहरूलाई उडानको अनुमति नदिने भएको छ ।

जहाज प्रस्थान गर्ने विमानस्थल र पुग्नुपर्ने विमानस्थलसहित इनरुट को मौसम सफा नभएसम्म जहाजहरूलाई उडान अनुमति नदिने निर्णय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीपकुमार अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म भएका दुर्घटनाहरूमा प्रतिकूल मौसममा जहाज उडाएका कारण भएको देखियो, अबदेखि जहाज प्रस्थान गर्ने विमानस्थल र पुग्नुपर्ने विमानस्थलसहित इनरुट को मौसम सफा नभएसम्म उडान अनुमति दिइने छैन ।’

प्रतिकूल मौसमका कारण देशमा पटक–पटक हवाई दुर्घटना हुँदै आएको निष्कर्ष निकाल्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले यो निर्णय गरेको हो । महानिर्देशक अधिकारीका अनुसार यस्तो निर्णय आँखाले अगाडि हेरेरै गर्नुपर्ने उडान प्रणाली (भीएफआर) रहेको रुट र जहाजको हकमा लागू हुने भएको छ । अब जहाज उड्ने रुटको मौसमसमेत सफा रहेको निश्चित भएपछि मात्र उडान अनुमति दिइने र यसको कडाइका साथ पालना गरिने क्यानले जनाएको छ । प्राधिकरणका अनुसार इनरुटको मौसम कस्तो छ भन्ने विवरण भने जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कलाई आधार मानिनेछ ।

प्रतिकूल मौसमका कारण आइतवार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका २ सानोसरेमा तारा एअरको विमान दुर्घटना भएको क्यानको प्रारम्भिक अनुमान छ । दुर्घटनामा चालक दलका सदस्य तीन जनासहित २२ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web