लाङटाङ र गोसाइँकुण्ड पदमार्गमा आउन थाले पर्यटक

फाल्गुन १४, २०७८ मा प्रकाशित | 1094 views

रसुवा । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सुनसान रहेको लाङ्टाङ र गोसाइँकुण्ड पदमार्गमा छिटफुट विदेशी पर्यटक देखिन थालेका छन् ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम कम हुँदै गएको र यस क्षेत्रमा हुने अत्यधिक चिसोपनमा कमी आएसँगै लाङटाङ र गोसाइँकुण्ड पदमार्गमा आन्तरिक एवं बाह्य पर्यटक आउन थालेका हुन् ।

पदयात्रीको आगमन सुरू भएसँगै हिमपातका कारण उच्च भागमा बन्द रहेको होटल तथा लज क्रमश पुनःसञ्चालन हुन थालेको होटल व्यवसायी सङ्घका जिल्लाध्यक्ष रामशरण (निसान )गजुरेलले बताए । पदमार्गमा पर्यटक घुम्न आउन थालेपछि कोरोना भाइरस सङ्क्रमणले थाला परेको व्यवसायबाट पलायन हुन लागेका व्यवसायीलाई आशा जगाएको उनको भनाइ छ ।

एक/दुई दिन अगाडिदेखि दैनिकरूपमा १५/२० जना आन्तरिक र चार/पाँच जना बाह्य पर्यटकको आगमन भइरहेको होटल व्यवसायीले बताएका छन् । अबका दिनमा पर्यटन क्षेत्र चलायमान हुने अपेक्षाका साथ यहाँका व्यवसायीले पदमार्गका होटल तथा लजमा थप सुदृढीकरणको गृहकार्यसमेत अगाडि बढाइसकेको अध्यक्ष गजुरेलले जानकारी दिए ।

गोसाइँकुण्ड जाने धार्मिक मार्गअन्तर्गत रहेको जैविक विविधता, बुधबार परेको हिमपात एवं लौरिविनायक क्षेत्रबाट देखिने पश्चिम नेपालका अग्ला हिमश्रृङ्ख्लाले यात्रा मनमोहक बनाएको कपिलवस्तु वाणगङ्गा–८ का २४ वर्षीय हरि अर्यालले बताए ।

रसुवा ट्रेक एण्ड ट्राभल टुर ठमेल काठमाडौँमार्फत पर्यटकका रूपमा गोसाइँकुण्ड आएका अमेरिकन नागरिक पाठरिक एवं युकेबाट आएका निकले हिमाली क्षेत्रको सुन्दरता हेर्न आफ्ना धेरै साथी आउन आतुर रहेको बताउँदै पहिलो चरणमा आफूहरूले भ्रमण सम्पन्न गरी दोस्रो चरणमा अन्य साथीभाइलाई रसुवाको भ्रमणमा पठाउने बताए । चन्दनबारी, लौरिविनायक तथा गोसाइँकुण्डमा एक सातासम्म रहने उनीहरुको भनाइ छ ।

शिशिर ऋतुको फागुन, वसन्त ऋतुको चैत, वैशाख, ग्रीष्म ऋतुको जेठ, शरद ऋतुको असोज, कात्तिक र हेमन्त ऋतुको मङ्सिर महिना हिमाली पदयात्राका लागि अत्यन्तै उपयुक्त समय भएको पर्यटन व्यवसायी गगनराज न्यौपानेले जानकारी दिए ।

धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्ड, जीव विशेषज्ञ स्व डाक्टर प्रह्लाद याञ्जेन रेडपाण्डा पदमार्गअन्तर्गत लाङ्टाङ तथा क्याङ्जेन, तामाङ सम्पदा मार्गको गतलाङ, नागथली, थुमन र वृद्विम क्षेत्र पर्यटकको मुख्य आकर्षण थलो भएको पर्यटन व्यवसायीले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web