रसुवाको थुमन दालगाउँ सडक सञ्जालसँग जोडियो

फाल्गुन २, २०७८ मा प्रकाशित | 1041 views

रसुवा । रसुवाकाे उत्तरी क्षेत्रमा रहेकाे थुमन दालगाउँ सडक सञ्जालसँग जोडिएको छ । गाउँलाई सडक सञ्जालसँग जोड्न यहाँ निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाले सहयोग गरेको हाे।

आयोजना प्रभावित क्षेत्रभित्र बसोबास गर्ने बासिन्दालाई सडक मार्गको सुविधा पुर्याइ उनीहरूको जीवनमा सुधार ल्याउने उद्देश्यले पाँच किलोमिटर सडक निर्माणमा गरिएको जनाइएको छ ।

भिरालो जमिन भएका कारण वातावरणीय पक्षलाई विशेष ध्यान दिँदै आयोजनाको आफ्नै उपकरणले सडकको ट्रयाक खुलाएको थियो । अहिले गाउँमा गाडी पुगेपछि स्थानीय बासिन्दा खुसी भएका छन् ।

स्थानीयवासी बलबहादुर घलेका अनुसार याे सडकले गोसाइँकुण्ड गाउँपालिका–१ दालगाउँका ४६ घर परिवारलाई यातायातको पहुँचमा पुर्याएको छ । मोटरबाटो निर्माण गर्दा निस्किएको खुकुलो माटो जमेपछि टेवा पर्खाल र नालीसमेतको व्यवस्था हुनेमा आफूहरू आशावादी भएको दालगाउँका बासिन्दाले बताएका छन् ।

यस्तै याे आयोजनाले गोसाइँकुण्ड–१ कै थुमनगाउँमा बसोबास गर्ने करिब ४ सय घरपरिवारलाई समेत यातायातको पहुँच पुर्याउने काम सम्पन्न गरिसकेको छ । रोङ्गा खोला मेन्दोगाङ, गोदेगाङ र तार्सा गाउँको बस्तीलाई समेत केन्द्रबिन्दु पार्दै थुमन गाउँमा ग्रामीण सडक निर्माण गरिएको हो ।

गाउँ सडक सञ्जालसँग जोडिएपछि बिरामी अस्पताल लैजान, खाद्य सामग्री ल्याउन, समयअनुसार थुमनमा उत्पादित कृषिउपज व्यापारिक केन्द्रसम्म पुर्याउन सजिलो भएको स्थानीय समाजसेवी लोप्साङ तामाङले बताउनु भयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web