त्रिशूली । कोरोना रोगको जोखिम बृद्धि हुदै गएसगैँ रोग नियन्त्रणमा लिन नेपाल सरकारले २५ जना भन्दाबढी भेला हुन नपाइने भएसगैँ यो वर्ष नुवाकोटमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेलाहरु रोकिएका छन् ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले कोरोना रोगको जोखिम बढेकाले सभासमारोह तथा मेला जात्रा नगर्न दिएको निर्देशन र जात्राको तयारीमा रहेका स्थानमा फोन मार्फत मेला नगर्न गरेको आग्रह अनुसार नुवाकोटको तारकेश्वरको तारुका, वेत्रावती, तादीको सातविसे, लिखुको सूर्यमती, पञ्चकन्याको पञ्कन्या, शिवपुरीको शेराबगर, बेलकोटगढीको दुईपिपल लगायतका स्थानमा गोरु जुधाई मेला स्थागित गरिएको हो ।

तारुकामा जुधाई ऐतिहासिक गोरु जुधाईको परम्परालाई यो वर्ष कोरोना रोगको जोखिमको कारण स्थगित गरिएको तारकेश्वर गाँउपालिका वडा नं. ३ का वडाध्यक्ष सूर्यमान श्रेष्ठले सूचना जारी गर्नुभएको छ । यसैगरी अन्य स्थानमा पनि गोरु जुधाईलाई मेला तथा उत्सवको रुपमा सञ्चालन गर्न लागिएको कार्यक्रमहरु सबै रोक्नको लागी नुवाकोट प्रशासनले जनाएको छ ।
यसैगरी, यही पुस ३० गते शिवपुरी गाँउपालिकाको नयाँ भवनको उद्घाटन कार्यक्रम पनि स्थगित भएको छ । पूर्वराष्ट्रपति डा.रामबरण यादव मार्फत उद्घाटन गराउन लागिइएको र त्यसको लागी आवश्यक सबै तयारी पूरा भैसकेको भएपनि कोरोना रोगको जोखिमको कारण प्रशासनले २५ जना भन्दा बढी भेला नहुन दिएको निर्देशन अनुसार आज ३० गतेको लागी तयारी गरिएको कार्यक्रम स्थगित गरिएको शिवपुरी गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृत ज्ञानेन्द्रप्रसाद भट्टले जानकारी दिनुभएको छ ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना रोगको तेश्रो भेरियन्टको जोखिम नुवाकोटमा पनि बढ्दै गएकाले तोकिएको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न, एकै स्थानमा अति आवश्यक काम नभई भेला तथा सभा नगर्न र २५ जना भन्दा बढी जम्मा नहुन पनि नुवाकोट प्रशासनले निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले दिइएको निर्देशनको पालना नगरेमा स्थानीय प्रशासन ऐन अनुसार कारबाही हुने चेतावनी दिइएको छ ।
21.96¡ÆC