प्रदेश २ का राज्यमन्त्री सवार जीप दुर्घटना

पुस २१, २०७८ मा प्रकाशित | 520 views

सप्तरी । प्रदेश नं २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबीकुमारी कर्ण सवार गाडी (जीप) सप्तरीको विष्णुपुर गाउँपालिकामा आज बुधवार बेलुका दुर्घटनामा परेको छ ।

विष्णुपुर ७ नहर चोकमा रहेकाे भित्री सडक खण्डमा ज १ झ ४०६ नम्बरको गाडीले नियन्त्रण गुमाउँदा दुर्घटना भएको राज्यमन्त्री कर्णले जानकारी दिनुभयो । राज्यमन्त्री कर्णका अनुसार साँघुरो बाटोमा मोड्न खोज्दा जीप अचानक पल्टिएर खेतमा पुगेको थियो ।

राज्यमन्त्रीसहित जीपमा उहाँका स्वकीय सचिव ध्रुवकुमार मण्डल, सुरक्षा गार्ड प्रहरी हवलदार तुलसीप्रसाद साह, चालक विकेश चौधरी, नेकपा माओवादीका स्थानीय नेता जयप्रकाश चौधरी र प्रथमलाल राम सवार थिए ।

सामान्य चोटपटक लागेका सबै जनाको राजविराजमा रहेकाे छिन्नमस्ता अस्पतालमा उपचार भएको छ । अवस्था सामान्य रहेकाले सबैलाई औषधि दिएर आराम गर्न घर नै पठाइएको डा. ज्ञानेन्द्र झाले बताउनुभयो ।

राज्यमन्त्रीको टोली छिन्नमस्ता गाउँपालिका ६ खुदीबखारीका ८९ वर्षीय मुक्तिलाल मण्डलको हत्याबारे जानकारी लिँदै परिवारलाई समवेदना दिएर फर्किरहेका बेला दुर्घटनामा परेको स्वकीय सचिव मण्डलले बताउनुभयो । छिन्नमस्ता सडक खण्डको खुदीबखारीमा रहेकाे झौखराही फूलबारीमा धारिलो हतियारले घाँटी काटिएको अवस्थामा मण्डलको शव गएकाे मङ्सिर ८ गते फेला परेको थियो ।

मण्डलको घरबाट राज्यमन्त्रीको टोली छिन्नमस्ता–१ बरही वीरपुरमा रहेकाे भुटीदेवी यादवको परिवारलाई भेट्न गइरहेको थियो । यादवको २०७८ पुस १२ गते हत्या भएको थियो । दुवै जनाको हत्या कसले र किन गरेको भन्ने अझै खुल्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web