ललिता निवास जग्गा हिनामिना प्रकरणका मुख्य बिचौलिया पक्राउ

पुस ८, २०७८ मा प्रकाशित | 653 views

काठमाडौं । काठमाडौं महानगरपालिका-४ बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको नेपाल सरकार समरजंग कम्पनीको नाममा रहेको सरकारी जग्गा हिनामिना प्रकरणका २ जना मुख्य बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१३ ताहाचल ठेगाना भएका ५७ वर्षीय राम कुमार सुवेदी र सोही ठाउँ बस्ने ५५ वर्षीया माधवी सुवेदी रहेका छन् ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले राम कुमारलाई काठमाडौं कमलादीबाट र माधवीलाई ताहाचलबाट पक्राउ गरेको हो ।
रामकुमार सुवेदी समेतका प्रतिवादीहरूले विभिन्न व्यक्तिहरूको संलग्नतामा झूठो र किर्ते समेतको फरक व्यहोराको प्रस्ताव पेशमार्फत कानूनको दुरूपयोग र अपव्याख्या एवं मन्त्रिपरिषदको निर्णय विपरीत समेत गरी बदनियतपूर्वक राज्यलाई हानी हुने गरी नेपाल सरकार समरगंज कम्पनीको नाममा रहेको उक्त सरकारी जग्गा अन्य व्यक्तिहरूलाई फाइदा हुने गरी सार्वजनिक र सरकारी जग्गा हिनामिना र हानी नोक्सानी पुर्‍याएको भन्ने व्यहोराको लिखत सम्बन्धी कसूर मुद्दामा अनुसन्धानको सिलसिलामा उक्त ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web