नुवाकोटमा केन्द्रीय कारागार निर्माण अन्तिम चरणमा, फागुनमा केही सारिँदै

मंसिर २९, २०७८ मा प्रकाशित | 463 views

त्रिशूली । नुवाकोटको विदुर नगरपालिकामा निर्माण भएको केन्द्रीय कारागारको भौतिक संरचना निर्माणको काम लगभग सकिएको छ । कारागार सुविधासम्पन्न रहने भएको छ । सात हजार कैदीबन्दी अटाउने क्षमता भएको केन्द्रीय कारागारको निर्माणको काम लगभग सकिएको केन्द्रीय कारागारका जेलर डोरेन्द्र निरौलाले बताउनुभयो ।

उहाँका अनुसार कारागार निर्माणका लागि खम्बा क्याम्पमा रहेको करिब पाँच सय ३४ रोपनी जग्गा कारागार व्यवस्थापन विभागको नाममा स्वामित्व हस्तान्तरण भइ शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धादिङमार्फत करिब ४२ करोड रुपियाँको लागतमा कारागारको संरचना निर्माण भएको हो ।

कारागार भवन निर्माणको काम लगभग सकिए पनि अन्य काम बाँकी छ । ‘ भवन निर्माणको काम सकिए पनि अन्य काम बाँकी रहेकाले अहिले नै कैदीबन्दी सार्ने काम हुँदैन,’ जेलर निरौलाले भन्नुभयो, ‘सबै कुराको व्यवस्था मिल्यो भने फागुनसम्म एक हजार कैदीबन्दी सार्ने योजना छ ।’ सुरक्षा, यातायात र कारागार कार्यालयको व्यवस्था हुने वित्तिकै कारागार सार्न सकिने उहाँको भनाइ छ ।

कारागार पाँच वटा सेक्सनमा निर्माण भएको छ । जेलर निरौलाले भन्नुभयो,‘ यो चानचुने काम होइन, कैदीबन्दी धेरै अट्ने क्षमता छ, व्यवस्थापनको जिम्मेवारी पनि धेरै हुन्छ, त्यसकारण कारागार सार्ने कुरामा समय लाग्नसक्छ, फागुनमा एक हजार कैदीबन्दी सार्ने योजना पनि ढिलो हुनसक्छ ।’ धेरै कुराको व्यवस्थापन गर्न बाँकी रहेकाले केन्द्रीय कारागार सार्ने कुरामा अहिले नै फिक्स कुरा बोल्न नमिल्ने जेलर निरौलाले बताउनुभयो ।

२०७० साल चैत २० गतेको मन्त्रिपरिषद्को बैठकले काठमाडौंस्थित केन्द्रीय कारागारलाई नुवाकोटमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार निर्माण भएको कारागारमा सात हजार कैदीबन्दी अट्ने क्षमता छ । कारागार निर्माण कार्यको जिम्मा रमण जेबी कन्ट्रक्सनले लिएको थियो ।

जेलर निरौलाका अनुसार काठमाडौंस्थित केन्द्रीय कारागारमा भएको सबै सेवा सुविधा नुवाकोट कारागारमा रहनेछ । ‘ कारागारमा श्रमिक तथा दक्ष जनशक्ति हुन्छ, त्यसको लागि सीपमूलक काम र उद्योग हुन जरुरी हुन्छ र त्यसको स्थापना केन्द्रीय कारागार नुवाकोटमा पनि गरिनेछ,’ जेलर निरौलाले भन्नुभयो,‘खेल मैदान, अस्पताल, विद्यालय एवं क्याम्पस, पुस्तकालय, सीप प्रवर्धन केन्द्र, योगकेन्द्र र किरियापुत्री कक्ष रहने गरी कारागार बन्छ ।’

त्यहाँ काम गरे बापत् कैदीबन्दीको सजाय छुटलगायत व्यक्तिगत आम्दनीको स्राेत पनि हुन्छ । ‘केन्द्रीय कारागार सजाय गर्ने ठाउँ मात्र नभइ सुधारगृहको रुपमा पनि रहनेछ,’ जेलर निरौलाले भन्नुभयो, यो जेलमा बसेपछि धेरैजसो मानिस सुध्रिएर निस्कने र बाहिर गएर राम्रो काम गरेकाहरु पनि छन् ।’ मानिस अपराधको फन्दा पर्दैमा सधैँ नराम्रो हुँदैन, जेलर निरौलाको अनुभव छ ।

नेपालमा कारागारहरुको अवस्था दयनीय छ । कतिपय कारागारमा न्यूनतम आधारभूत मानवीय पूर्वाधारहरु पनि छैन । धेरैजसो कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीहरु छन् । केन्द्रीय कारागारमा पुग्दो शौचालयसमेत नरहेकाले अहिले न्यूनतम आधारभूत मानवीय पूर्वाधारसहितको कारागार नुवाकोटमा निर्माण भइरहेको छ ।

केन्द्रीय कारागार सुन्धारामा कैदीबन्दीको सङ्ख्या बढेपछि बिरामी हुने कैदीबन्दी पनि बढेका छन् । कारागारमा प्यारालाइसिसका बिरामी मात्रै झण्डै दुई सय जना हुनुहुन्छ । मानसिक रोगका बिरामीको सङ्ख्या त्यस्तै छ । तर कैदीबन्दीको सङ्ख्याअनुसार न काम गर्ने ठाउँ छ न पुग्दो अस्पतालको त्यो सबैको व्यवस्थासहित कारागार सार्न थालिएको हो । केन्द्रीय कारागार सुन्धारामा कैदीबन्दीहरुलाई स्याहार्ने, औषधी उपचार गर्ने, खानपिनको व्यवस्था गर्नेलगायतको समस्या पनि त्यस्तै रहेको जेलर निरौलाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web