लडाकुले अन्धाधुन्ध गोली चलाउँदा तीन प्रहरीको मृत्यु, ११ जना घाइते

मंसिर २८, २०७८ मा प्रकाशित | 437 views

एजेन्सी । भारत प्रशासित कश्मीरमा सुरक्षाकर्मी बोकेको एउटा बसमा लडाकुले आक्रमण गर्दा तीनजना प्रहरीको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

तीन जना लडाकुले श्रीनगरस्थित प्रहरी शिविर नजिकैको बसमाथि अन्धाधुन्ध गोली चलाएको प्रहरी अधिकारीले बताए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदना प्रकट गर्दै आक्रमणको थप विवरण मागेका छन् । त्यस क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरी खोजी अभियान जारी छ ।

अधिकारीहरूका अनुसार प्रहरीहरू काम सकेर आफ्नो क्याम्पसमा फर्किँदै गर्दा आक्रमण भएको थियो । सुरक्षा बलले जवाफी कारबाही गर्दा आतंककारीहरू अँध्यारो कुनामा भागेका थिए ।

दुईजना प्रहरीको सोमबार राति र एक जनाको मंगलबार बिहान मृत्यु भएको आधिकारीक विज्ञप्तिमा जनाइएको छ ।

कश्मीरका इन्स्पेक्टर जेनेरल विजय कुमारले विश्वसनीय स्रोत अनुसार जैसे ए मोहम्मद (जेम) को शाखा कश्मीर टाइगरले आक्रमण गरेको बताएका छन् ।

पाकिस्तान आधारित समूह जेमलाई भारत र संयुक्त राष्ट्रसंघ सँगैसँगै बेलायत र अमेरिकाले पनि आतंकवादी संगठनको सूचीमा राखेका छन् । यसले सन् २०१९ फेब्रुअरी १४ मा ४६ जना सैनिकको ज्यान जाने गरी भएको आत्मघाती आक्रमणको जिम्मेवारी लिएको थियो । त्यो त्यस क्षेत्रमा भारतीय बलमाथि भएको सबै भन्दा घातकमध्येको एक आक्रमण थियो ।

कश्मीरलाई भारत र पाकिस्तान दुवैले पूर्ण रूपमा दाबी गर्दै आएका छन् । तर, परमाणु शक्ति सम्पन्न दुई छिमेकीले केही भागमा शासन गर्दै आएका छन् । भारतले पाकिस्तानलाई त्यस उपत्यकामा लामो समयदेखि पृथकतावादी लडाकुहरूलाई समर्थन गरेको आरोप लगाउँदै आएको छ । तर इस्लामावादले भने अस्वीकार गर्छ ।

भारत प्रशासित कश्मीरले सन् १९८० को दशकदेखि दिल्लीविरुद्ध विद्रोह गरेको देखिएको छ र सुरक्षा बलद्वारा ज्यादती गरेको आरोपबीच सम्बन्ध तनावपूर्ण छ । तर २०१९ मा मोदी सरकारले यस क्षेत्रको विशेष स्वायत्तता खारेज गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web