राहदानी बनाउन एकैदिन ५ हजार जनाले लिए टोकन

कार्तिक १५, २०७८ मा प्रकाशित | 342 views

काठमाडौँ । राहदानी बनाउनेको सङ्ख्या यो वर्षको अहिलेसम्मकै उच्च भएको छ । सामान्य अवस्थामा दैनिक एक हजार जनासम्मले राहदानी बनाउने गरेकामा हिजो एकैदिन ५ हजार जनाले राहदानीका लागि टोकन पाएका विभागका प्रवक्ता सरद राज अरनले जानकारी दिनुभयो ।

उहाँका अनुसार केही दिनयता लगातार राहदानी बनाउनेको भीड बढेको छ । हिजो राहदानी बनाउनका लागि ५ हजार जनाले टोकन लिएका उहाँले बताउनुभयो । अब टोकन नम्बरका आधारमा राहदानी वितरण गरिने उहाँको भनाइ छ। राहदानी विभागको अगाडि मानिसको भीड थेगिनसक्नु छ।

भीड थेगिसक्ने अवस्था नभएकाले भीड नियन्त्रणका लागि टोकनको व्यवस्था गरिएको भए पनि टोकन लिनकै लागि पनि भीड हुने गरेको छ । बिहानैदेखि राहदानी वितरण गर्ने व्यवस्था मिलाइएको छ । धेरै भीडका कारण बाटोमा हिँड्ने यात्रुलाई पनि समस्या पर्ने गरेको छ । अहिले अमेरिका जानका लागि खुलेको डाइभर्सिटी भिसा (ई–डीभी) खुलेका कारण पनि राहदानी बनाउनेको भीड बढेको उहाँ बताउनुहुन्छ । त्यो भिसा आवेदनका लागि गएको वर्षदेखि राहदानी नम्बर अनिवार्य गरिएको छ ।

विगतका वर्षमा नागरिकता नम्बर वा अन्य परिचयपत्रकाे नम्बरले काम गर्थ्याे तर अहिले राहदानी नम्बर नै अनिवार्य गरेकाले राहदानी पहिल्यै बनाउनुपर्ने बाध्यता आवेदकलाई परेको छ ।

गएको सेप्टेम्बर महिनासम्म तीन लाख ४९ हजार १ सय ७५ वटा राहदानी जारी भएका छन् । नेपालमा एमआरपी जारी हुन सुरु गरेयता अहिलेसम्म ६७ लाख ५९ हजार ९ सय ८३ थान राहदानी जारी भएका छन् ।

राहदानीको खपत बढे पनि अभाव भने नभएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web