गञ्जला पास सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरियो

अशोज २३, २०७८ मा प्रकाशित | 346 views

रसुवा । २०७२ सालको भूकम्पपछि बन्द भएको गञ्जला पास फेरि सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ । भूकम्प जानुअगाडि लाङटाङ गएका पर्यटकमध्ये थोरै पर्यटकले गञ्जला पास गर्ने गरेका थिए ।

रसुवाको पर्यटकीय क्षेत्र क्याञ्जिन हुँदै सिन्धुपाल्चोकको हेलम्बु जाने ‘गञ्जला पास’ पार गर्नका लागि निकै कठिन छ । यो पास पूरा गर्न दिन दिन लाग्छ । गञ्जला पास गर्न चाहाने पर्यटकले तीन दिनका लागि खाने तथा बस्ने व्यवस्था आफैँले गर्नुपर्ने हुन्छ ।

भूकम्पले विभिन्न क्षेत्रमा पहिरो गएका कारण बाटो नहुँदा गञ्जला पास गर्न समस्या हुँदै आएको छ । गञ्जला पास ५ हजार २ सय मिटर उचाइमा पर्छ । गञ्जला पास गर्न सहज बनाउनका लागि वाग्मती प्रदेशमा रहेको पर्यटन विकास आयोजनाले एक वर्ष अघिदेखि प्रक्रिया अघि बढाएको थियो ।

कोभिड–१९ का कारण गएकाे आर्थिक वर्ष २०७७/७८ मा काम गर्न कठिन भएको थियो । केही समयअघि गञ्जला पास सञ्चालन तथा विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ । परामर्शदाता श्रेष्ठ – गौमुखी इञ्जिनियरिङ सर्भिसेज प्रालि (जीईएस) – स्ट्रेन्थ (जेभी) ले तयार पारेको हो ।

स्थलगत अध्ययनपश्चात ड्राफ्ट रिर्पोट तयार पारिएको जीईएसका प्रबन्ध निर्देशक इञ्जिनियर प्रकाश जीसीले बताउनुभयो । प्रदेश अन्तर्गत रहेका मन्त्री, सांसद तथा सरोकारवालासँग छलफल तथा सरोकारवालाबाट आएका सुझाव समावेश गरेपछि अन्तिम प्रतिवेदनको काम अघि बढाउने उहाँको भनाइ छ ।

गञ्जला पास सञ्चालनमा ल्याउनका लागि एक ठाउँमा झोलुङ्गे पुल निर्माण गर्नुपर्ने, सुरक्षित भर्‍याङ बनाउनुपर्ने र बाटो सुधारका काम गर्नुपर्ने देखिएको छ । पासलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनका लागि ५० करोड लाग्ने अनुमान छ ।

अध्ययन पश्चात पासको अवस्था हेरेर अप्ठ्याराे ठाउँमा डोरी टाँग्ने, रड राख्ने लगायतको काम गरिने छ । यो बहुवर्षीय योजनामा राखिएको छ । पहिलो चरणमा वारपार गर्न सकिने गरी अस्थायी किसिमको संरचना निर्माण गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web