तीनबुँदे सहमति कार्यान्वयन माग गर्दै प्रशासनमा धर्नादेखि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

अशोज १८, २०७८ मा प्रकाशित | 481 views

काठमाडौ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र देखि देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिइएको छ । सहमति भएको लामो समयसम्म पनि सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेको भन्दै नेकपा माओवादीले सरकारको पुनः ध्यानाकर्षण गराएको हो ।
नेकपा माओेवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सहमति कार्यान्वयनका लागि ज्ञापनपत्र बुझाउनुभएको छ । गएको फागुन २० गते तत्कालीन केपी शर्मा ओली सरकारको नेतृत्वसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि नेकपाले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको हो ।
विप्लव नेतृत्वको नेकपाले सरकारसँग बन्दीको रिहाइ र मुद्दा खारेजी हुने सहमति भए पनि कार्यान्वयन नभएको भन्दै आजै नुवाकोट सहित देशभरको ७७ वटै जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना दिदै बिरोध सभा र नाराबाजी गरेको छ ।
सरकारसंग भएको तीन बुदे सहमति अनुसार दुबै पक्ष नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत हुने, नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत हुने र नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको उल्लेख गरिएपनि सरकारी पक्षबाट सहमति कार्यान्वयन नभएको भन्दै नेकपा माओवादीले दबाब दिन सुरु गरेको हो ।
त्यस अन्तरगत जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आज नेकपाको नुवाकोट इञ्चार्ज बिन्दु, जिल्ला सेक्रेटरी श्रृजनको नेतृत्वमा रहेको टोली सहितको करीब एक सय कार्यकर्ताले सहमति कार्यान्वयन गर्न माग गर्दै दबाब दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web