काठमाडौं । शुक्रबारदेखि माल्दिभ्समा १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल सुरु हुँदैछ । २८ वर्षको इतिहास बोकेको साफ च्याम्पियनसिपको उपाधि नेपालले अहिलेसम्म जित्न सकेको छैन । उपाधिको कुरा छाडौं, नेपाल अहिलेसम्म फाइनलमा पनि पुग्न सकेको छैन ।
यसपटक च्याम्पियन बन्ने लक्ष्यसहित किरण कुमार लिम्बु (चेम्जोङ) को कप्तानीमा नेपाली टोली सोमबार माल्दिभ्स पुगिसकेको छ ।
साफकै लागि भनेर नेपालले करिब ३ महिनादेखि निरन्तर तयारी गरिरहेको थियो । नेपालले पछिल्लो दुई साता र केही दिन भने कतारमा बन्द प्रशिक्षण गरेको थियो ।
माल्दिभ्स जानु अघिल्लो दिन नेपालले गल्फ राष्ट्र ओमानसँग कतारमा मैत्रीपूर्ण अभ्यास खेल खेलेको थियो । तर कतार युनिभर्सिटीको मैदानमा भएको खेलमा नेपाल ७–२ ले पराजित भयो । नेपालका लागि आयुष घलान र अनन्त तामाङले गोल गरेका थिए ।
फिफाको मान्यता नभए पनि नेपाललाई साफ अघि उक्त खेल आफ्नो कमजोरी थाहा पाउने अन्तिम अवसर थियो ।
कतार जानुअघि नेपालले काठमाडौंको दशरथ रंगशालामा छिमेकी भारत विरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा अग्रता लिएर पनि १–१ को बराबरीमा रोकिएको नेपाल दोस्रो खेलमा भने भारतसँग २–१ ले पराजित भएको थियो ।
साफअघि नेपालले लगातार प्रशिक्षण गर्दै आएको छ भने मैत्रीपूर्ण खेल समेत खेलेको छ । नेपालले जस्तै माल्दिभ्स र श्रीलंकाले पनि कतारमा क्लोज क्याम्प राखेको थियो । बंगलादेशले भने थ्री नेशन्स कप खेलेको थियो ।
29.12¡ÆC