काठमाडौँ । नेपालले अहिलेसम्म कोभिड–१९ विरुद्धको खोप एक करोड ७८ लाख ५८ हजार सात सय १० मात्रा (डाेज) प्राप्त गरेकाे छ ।
नेपालले प्राप्त गरेका खोपमध्ये सबैभन्दा धेरै चिनियाँ खोप भेरोसेल एक करोड १९ लाख मात्रा रहेको छ । यस्तै कोभिशिल्ड खाेप २४ लाख मात्रा, बेलायतमा उत्पादन भएको अस्ट्राजेनेका खोप १९ लाख ७५ हजार आठ सय ६० मात्रा रहेकाे छ ।
साथै जोनसन एन्ड जोनसन खाेप १५ लाख ३४ हजार आठ सय ५० मात्रा प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ८६ हजार एक सय ४५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । देशव्यापी चलिरहेको खोप कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा लगाइएको खोपसँगै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ६२ लाख ३८ हजार एक जना पुगेको छ । ७२ लाख १४ हजार सात सय ४२ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।
यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले आउँदाे वैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसक्ने बताउनुभएको छ । राज्यमन्त्री श्रेष्ठले सरकारले दशैँअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको जानकारीसमेत दिनुभयो ।
विश्व मुटु दिवसको अवसरमा आज बुधवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले अहिले दैनिक तीन लाख जनालाई काेराेनाविरुद्धकाे खोप लगाउने काम गरिरहेको बताउनुभयो ।
19.59¡ÆC