राष्ट्रपति, प्रधानमन्त्रीद्वारा इन्द्रजात्रा अवलोकन

अशोज ३, २०७८ मा प्रकाशित | 534 views

काठमाडौँ । सांस्कृतिक एवम् ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी हनुमानढोका दरबार क्षेत्रमा रहेकाे गद्दी बैठक जानु भई जात्रा अवलोकन गर्नुभएको छ ।

जात्रा अवलोकन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, अर्थ मन्त्री जनार्दन शार्मालगायत मन्त्रि गण, सांसद, प्रदेश सभा सदस्यहरू, पालिकाका जनप्रतिनिधि सहभागी हुनुभएको थियो ।

जात्राका अवसरमा राष्ट्रपति भण्डारीले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाइ यात्रा गराउने अनुमति दिनुभएको थियो । यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो ।

भाद्र शुक्ल द्वादशीका दिन हिजाे शनिवार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । आज तल्लो टोलमा रथयात्रा चलाइने गुठी संस्थान काठमाण्डाै शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो । भाेलि सोमवार माथिल्लो टोलमा रथयात्रा गरिने छ ।

असोज ८ गते महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ । यसै दिन बेलुकी राष्ट्रपति भण्डारी हनुमानढोका दरबार जानु भइ कुमारीबाट टीका एवम् प्रसाद ग्रहण गर्नुहुनेछ । टीका, प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत छ ।

असोज ८ गते राति १०ः३६ बजे इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ । पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानमा रहेकाे वाग्मती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको साइतमा लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु हुन्छ । वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेशलगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ । इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गर्नुभएको थियो । उपत्यकामा मनाइनेमध्ये यो लामो जात्रा हो ।

वर्षा र सहकालका देवताका रूपमा पुजिने इन्द्रको आज विधिपूर्वक पूजाआजा पनि गरिएको थियो । जात्राका अवसरमा लाखेनाच, दश अवतार नाचलगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा काठमाण्डाै उपत्यकामा सार्वजनिक बिदा दिइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web