उपत्यकामा विशेष सुरक्षा योजना लागू

अशोज २, २०७८ मा प्रकाशित | 616 views

काठमाडौँ । काठमाण्डौ उपत्यकामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू भएको छ ।

दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी हिजोदेखि काठमाण्डौ, ललितपुर र भक्तपुरमा विशेष सुरक्षा योजना लागू गरेर सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

ठूला चाडपर्वका बेला हुन सक्ने अपराध नियन्त्रण र शान्ति सुरक्षाको व्यवस्थापनलाई चुस्त बनाउन विशेष योजना लागू गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पालले जानकारी दिनुभयो ।

ठूला चाडपर्वका बेला चोरी, डकैती, पाकेटमार, चन्दा अपहरण, फिरौती, कालोबजारी तथा तोकिएको भन्दा बढी भाडा लिने जस्ता गलत क्रियाकलाप हुने भएकाले त्यसलाई नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरिएको एआईजी पालको भनाइ छ ।

यो योजना अन्तर्गत काठमाण्डौ ललितपुर र भक्तपुरमा पाँच हजार पाँच सय जना सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले बैंक तथा वित्तीय संस्था, बसपार्क, र भीडभाड हुने क्षेत्रमा प्रहरीले निगरानी बढाउनेछ । ४८ वटा चारपाङ्ग्रे, ३५ वटा मोटरसाइकल र ८३ वटा क्विक रेस्पोन्स टीम क्यूआरटी परिचालन गरिएको छ ।

हरेक दिन ३६ ठाउँमा विहान र बेलुका आकस्मिक सुरक्षा जाँच हुने र सार्वजनिक गाडीमा पनि सादा पोसाकमा प्रहरी खटाइने एआईजी पालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web