घुस अस्वीकार गर्ने २४ ट्राफिक प्रहरी पुरस्कृत

अशोज २, २०७८ मा प्रकाशित | 446 views

काठमाडौँ । सवारी चालकको प्रलोभनमा नपरि इमानदारिता निभाउँदै सेवा दिने उपत्यकाका ट्राफिक प्रहरी पुरस्कृत भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमअनुसार ट्राफिक कारबाही गर्ने क्रममा घुस नलिइ जिम्मेवारी निर्वाह गर्ने प्रहरी निरीक्षकसहित २४ ट्राफिक प्रहरीलाई शुक्रवार सम्मान गरेको हो ।

नगद पुरस्कारसहित सम्मान हुनेमा प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठ, प्रहरी हवलदार उमेश राम, लक्ष्मण यादव तथा जवानहरू किसानचन्द्र गौतम, धनवीर जिसी, सविना लम्जेल, प्रकाश थापा, निरज थापा, हिक्मत रावल र सन्तोष धमला रहेका छन् ।

यस्तै प्रहरी नायब निरीक्षक मिलनकुमार सिंह, प्रहरी हवलदार ईश्वर सिंह धामी, भीमबहादुर बोहोरा, नगकुल गिरी, विनोद गोतामे, सन्तोषकुमार साह, रामजी साह, प्रवीन मोक्तान, दधिराम विसी, प्रहरी जवान हरिबहादुर सुनार, कुमार कोइराला, सविना थापा मगर, महेशराज पनेरु, गुणाकर अवस्थी, अरुणबहादुर अधिकारी पनि सम्मानित भएका छन् ।

उनीहरूलाई महाशाखा प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भट्टराईले प्रशंसापत्रसहित खादा ओढाएर सम्मान गर्नुभएको थियो । प्रहरीले गएकाे आर्थिक वर्षमा घुस दिन खोज्ने एक सय ६६ चालक पक्राउ गरेको थियो । यस आवमा घुसबापत ९० हजार एक सय ५५ रुपैयाँ दिइ आर्थिक प्रलोभनमा पार्न खोज्ने एक सय ६५ चालक पक्राउ परेका छन् ।

उनीहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने ९३ जना प्रहरी कर्मचारीलाई महाशाखाले पुरस्कार एवम् प्रशंसा पत्रबाट सम्मान गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web