सामाजिक सञ्जालमार्फत ठगहरू सक्रिय

भदौ ३१, २०७८ मा प्रकाशित | 1035 views

काठमाडौँ । सामाजिक सञ्जालमार्फत आर्थिक ठगी गर्ने क्रम बढिरहेको भन्दै नेपाल प्रहरीले सचेत रहन अनुरोध गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले एक विज्ञप्ति निकालेर प्रविधिको दुरुपयोगबाट हुने ठगीबाट बच्नका लागि सामाजिक सञ्जालमा आउने भ्रामक कुरामा विश्वास नगरि सतर्कता अपनाउन अनुरोध गरेको हो ।

केही समयदेखि केही व्यक्ति तथा आपराधिक समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जालमार्फत चिट्ठा परेको भन्दै चिट्ठाबापतको रकम पाउनका लागि कर चुक्ता गर्न रकम चाहिने भएकाले बैङ्क तथा अनलाइनमार्फत पैसा जम्मा गर्न लगाइ ठगी गर्ने प्रवृति बढिरहेको प्रहरीले जनाएको छ । चिट्ठा परेको भन्दै पैसा मागेमा तुरुन्तै प्रहरीमा खबर गर्न ब्युरोले आग्रह गरेको छ ।

यस्तै विभिन्न व्यक्तिका फेसबुक ह्याक गरी फेसबुक प्रयोगकर्ताका आफन्त र साथीभाइलाई पैसा पठाउन अनुरोध गरेर ठगी गर्ने क्रम पनि बढिरहेको प्रहरीको भनाइ छ । परिवारकै सदस्य या साथीभाइले नै सामाजिक सञ्जालकाे माध्यमबाट पैसा मागे पनि एक पटक फोन गरेर पक्का गरेपछि मात्रै पैसाको कारोबार गर्न पनि साइबर ब्युरोको अनुरोध छ ।

‘केही समयदेखि केही व्यक्ति/आपराधिक समूहले सामाजिक सञ्जाल ह्वाट्सएप, भाइबर, आईएमओ लगायतका माध्यमबाट चिट्ठा परेको भन्दै कर चुक्ता गर्नुपर्ने भएकाले बैंक तथा अनलाइन पेमेन्ट गेटवेमा पैसा जम्मा गर्न लगाइ ठग्ने प्रवृत्ति बढेको छ । यस्ता भ्रामक कुरामा विश्वास नगरि प्रविधिको दुरुपयोगबाट बच्न सतर्कता अपनाउन साइबर ब्युरो अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web