काठमाडौँ । धानमा हाल्न रासायनिक मलको चरम अभाव भएपछि १६ भदौ २०७७ मा तत्कालीन प्रधानमन्न्त्री केपी शर्मा ओलीले बंगलादेशी समकक्षी शेख हसिनालाई टेलिफोन गरी मल पैंचो मागे । प्रधानमन्त्री तहबाटै फोन सम्वाद भएपछि बंगलादेशले नेपाललाई ५० हजार मेट्रिकटन युरिया मल बिक्री गर्ने सहमति दियो ।
यसले मलको डिपोमा लाइन बसेका किसानमा आश पलायो । तर धानबालीमा हाल्न मगाएको युरिया मल तरकारी, तोरी, गहुँ र हाईब्रिट मकैको सिजन सकिँदा समेत आएन । दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन सम्वाद भएको १० महिनापछि २६ जेठ २०७७ मा पहिलो लट मल कृषि सामग्री कम्पनीको वीरगञ्ज कार्यालयमा आइपुग्यो । बाँकी मल असार अन्तिम साता भित्रियो । तर मल अभावको समस्या समाधान भएन ।
सरकारी लापरबाहीका कारण २०७७ सालभर रासायनिक मलको अभाव झेलेका किसानहरुले यो वर्ष पनि त्यही नियति भोग्दैछन् । मलको ठेक्का पाएका ठेकदारले समयमै मल नल्याउने, ठेकदारलाई कारबाही गर्न अदालतले रोक्ने र वैकल्पिक स्रोत सुनिश्चित गर्न सरकारले चासो नदिएका कारण फेरि रासायनिक मलको अभाव हुन थालेको छ ।
18.17¡ÆC