मौद्रिक नीतिपछिको शेयर बजार लगानीकर्ताको ५ खर्ब गुम्यो

भदौ २१, २०७८ मा प्रकाशित | 807 views

काडमाडौँ । शेयर बजारमा बुधबार निकै ठूलो अंकको गिरावट आयो । पछिल्लो २ वर्ष यता सर्किट लागेर बजार नै बन्द हुने अवस्था सिर्जना भएको थिएन । तर आइतबार कारोबार शुरु भएको दोस्रो घण्टामा ५ प्रतिशतले बजार घटेपछि सर्किट ब्रेक लागेर ४० मिनेटका लागि बजार बन्द भयो ।

शेयर बजारको कारोबार गराउने जिम्मा पाएको एकमात्रै निकाय नेपाल स्टक एक्सचेन्जले ठूलो दुर्घटना नहोस भनेर ‘सर्किट ब्रेक’को व्यवस्था गरेको छ । सर्किट ब्रेकका लागि निश्चित एउटा सीमा तोकिएको छ, जुन सीमा भन्दा बढी बजार एकै दिन बढ्ने वा घट्ने हुँदैन ।
नेप्सेले कारोबार खुला भएको पहिलो घण्टाका लागि ४ प्रतिशत, दोस्रो घण्टाका लागि ५ र तेस्रो घण्टाका लागि ६ प्रतिशतको सीमा तोकिदिएको छ । पहिलो घण्टामा ४ प्रतिशतले बजार घटबढ भयो भने २० मिनेटका लागि, दोस्रो घण्टामा ४० मिनेटका लागि र तेस्रो घण्टामा ६ प्रतिशतले घटेबढ भए त्यस दिनका लागि पुरै कारोबार बन्द हुन्छ ।

समग्र बजारका लागिमात्रै होइन कम्पनीका लागि पनि नेप्सेले १० प्रतिशत भन्दा बढी एकैदिन घट्न वा बढ्न नसक्ने व्यवस्था गरिदिएको छ । आइतबार यो व्यवस्थाका कारण बजार धेरै घट्न पाएन । नत्र ठूलै दुर्घटना हुन्छ जस्तै गरी एकोहोरो बजार ओरालो लागेको थियो । कारोबार शुरु भएसँगै घट्ने क्रममा देखिएको सेयर कारोबार मापक नेप्से परिसूचक कारोबार बन्द हुँदा १०८ अंक भन्दा बढीले घटेको छ ।
नेप्से परिसूचक १०८ दशमलव २६ अंकले घटेर २ हजार ८ सय १८ दशमलव ७२ अंकमा झरेको छ । दिउसो ५ प्रतिशत बढीले मूल्य घटेर सर्किट ब्रेक समेत लागेको थियो । ४० मिनेट बन्द भएर खुलेको बजारमा केही सम्हालिने संकेत देखिएको थियो । तुलनात्मक हिसाबले बन्द हुँदा थोरै सम्हालियो । बजार बन्द हुँदा ३ दशमलव ७० अंकले घटेको हो । उच्च अंकले नेप्से परिसूचक घट्दा २ दर्जन बढी कम्पनीको सेयर मूल्य अत्यधिक घटेको छ ।

बजार घट्नुको प्रमुख कारण शेयर बजार अहिले राष्ट्र बैंकको नीति भएको जानकारहरु बताउँछन् । राष्ट्र बैंकले शेयर धितोमा जाने कर्जा बढीमा १२ करोड रुपैयाँमात्रै बनाइदिएको छ । कुनै व्यक्तिको १ अर्बको शेयर भए पनि उसले त्थ्यो धितो राखेर अधिकतम् १२ करोडभन्दा बढी लिन पाउँदैन् । यस अघि यो सीमा खुला थियो । बैंकहरुले जोखिम विश्लेषण गरेर लगानी गर्दै आएका थिए ।

यसले ठूला लगानीकर्ताहरु निकै समस्यामा परेका छन् । अहिले बजार घट्नुको प्रमुख कारण १२ करोडको सीमा नै भएको नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । राष्ट्र बैंकले ४० लाख लगानीकर्ताहरुको मर्म विपरीत ल्याएको नीतिले नै अहिले बजार घटाउन मूख्य भूमिका खेलेको उनको बुझाइ छ ।

राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनु अघि शेयर बजारको कुल पुँजीकरण ४४ खर्ब १३ अर्ब माथि थियो । आइतबारसम्म पुँजीकरण घटेर ३९ खर्ब ४४ अर्ब ९५ करोडमा झरेको छ । छोटो समयमा नै लगानीकर्ताहरुले गभर्नरकै कारण ठूलो पुँजी गुमाएको उनको भनाइ छ ।

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल पनि राष्ट्र बैंकको लगानीकर्ता मारा नीतिको ठूलो असर बजारमा देखिएको बताउँछिन् । राष्ट्र बैंकले आफ्नो नीति तत्कालै सच्याउनु पर्ने उनको माग छ । नत्र आन्दोलनमा उत्रन बाध्य हुने उनले चेतावनी समेत दिएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web