स्मार्ट लाइसेन्सको विकल्पमा एक वर्षका लागि परीक्षणकालीन लाइसेन्स

भदौ १९, २०७८ मा प्रकाशित | 531 views

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ ।

स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन सेवाग्राहीले वर्ष दिन कुुर्नपर्ने बाध्यताका कारण त्यसको विकल्पमा विभागले अस्थायी रूपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको हो ।

लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स पाउने यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिनुभयो । उहाँले अहिलेका लागि काठमाण्डाैकाे एकान्तकुनामा रहेकाे कार्यालयबाट परीक्षणकालीन लाइसेन्स वितरण सुरु भइसेको र क्रमशः देशैभरका यातायात कार्यालयहरूमार्फत वितरण गरिने पनि बताउनुभयो ।

अहिले स्मार्ट लाइसेन्स लिनका लागि झन्डै सात लाख सेवाग्राही महिनौँ दिनदेखि लाइनमा छन् । विभागका प्रवक्ता डा. भुसालले अबको दुई महिनाभित्र स्मार्ट लाइसेन्स वितरणको काम सुरु हुने पनि बताउनुभयो । उहाँले कोरोना महामारीका कारण विदेशबाट कार्ड ल्याउन नसकेकाले ६/७ महिनादेखि लाइसेन्स वितरण गर्न नसकेको भन्दै अबको दुई महिनाभित्र वितरण गरिने बताउनुभयो । उहाँले अबको एक/डेढ महिनाभित्र १४ लाख स्मार्ट कार्ड आउन लागेको जानकारी दिँदै कार्ड आए लगत्तै तीन शिफ्टमा काम गरेर भए पनि वितरण गरिने बताउनुभयो ।

विभागका प्रवक्ता डा. भुसालले कोरोना भाइरस महामारीका कारण स्थगित गरिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा आउँदो भदौ २० गतेदेखि सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले लाइसेन्सका लागि परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड तयार पारेर त्यसैअनुसार परीक्षा सञ्चालन गर्नका लागि देशभरिका यातायात कार्यालयहरूलाई पत्राचार गरिसकेको उल्लेख गर्नुभयो । उहाँले पहिलो चरणमा आवेदन दिएकाहरूका मात्र लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा र त्यसपछि मात्रै नयाँका लागि आवेदन खोल्ने पनि बताउनुभयो । नयाँका लागि आवेदन खोल्न भने अझै केही महिना लाग्ने विभागका प्रवक्ता भुसालकाे भनाइ छ ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षाका लागि ६ लाख जनाको आवेदन परेको छ । विभागले लाइसेन्सका लागि आवेदन अनलाइनबाटै लिने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web