लगातारको झरी आजदेखि केही कम हुने

भदौ १२, २०७८ मा प्रकाशित | 354 views

काठमाडौँ । आजदेखि मौसममा केही सुधार हुने मौसमविद्ले बताएका छन् । केही दिनयता परेको लगातारको झरी आजदेखि केही कम हुँदै जाने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।

पानी पानी पार्ने मनसुनी प्रणाली केही कमजोर हुँदै जाने भएकाले आजदेखि लगातार झरी पर्ने क्रम पनि कम हुने उहाँले बताउनुभयो । हिजोअस्तिको तुलनामा मौसममा केही सुधार हुने भए पनि आज वाग्मती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जनसहित ठूलो पानी पर्ने सम्भावना छ।

यस्तै बाँकी प्रदेशका एक वा दुई ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति देशभरको मौसम पूर्णदेखि सामान्य बद्ली रही प्रदेश-१, वाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ।

लगातार लामो समय जमिन भिजेको हुनाले भिरालो ठाउँमा पहिरो, बाढी र डुबानको जोखिम हुने भएकाले सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । अहिले पनि धेरै ठाउँमा पानी परिरहेको छ ।

यस्तै आज देशका केही नदी तथा खोलामा पानीको सतहले खतराको तह पार गर्न सक्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । विशेषगरी आज महाकाली, नारायणी, तिनाउ र कमला नदीमा बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो ।

डडेल्धुरामा गएको २४ घण्टामा १ सय ४३ दशमलव ६ मिलिमिटर, नवलपुरमा १ सय ६० दशमलव ६ मिलिमिटर, रुपन्देहीमा १ सय ६१ मिलिमिटर, धनुषामा २ सय २३ दशमलव ४ मिलिमिटर पानी परेको त्यहाँ रहेका स्टेशनहरुले मापन गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web