हवाई उडान ठप्प हुँदा लुक्लामा तरकारी अभाव

भदौ ११, २०७८ मा प्रकाशित | 425 views

सोलुखुम्बु । सोलुखुम्बुको पर्यटकीय क्षेत्र लुक्लामा तरकारी तथा फलफूलको अभाव भएको छ । निरन्तरको वर्षाका कारण तेन्जिङ हिलारी विमानस्थल लुक्लामा सात दिनदेखि हवाई उडान ठप्प हुँदा लुक्लासहित आसपासका क्षेत्रमा तरकारी तथा फलफूलको अभाव भएको हो ।

निरन्तरको झरी र हुस्सुका कारण हेलिकप्टर तथा जहाजले भदौ ३ गतेयता उडान भर्न नसक्दा मासु, अण्डा, तरकारीसहित फलफूल भित्रिन नपाएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख मुकेशराज दहालले जानकारी दिनुभयो । उहाँका अनुसार भदौ १ गते एउटा, २ गते दुई वटा र ३ गते एउटा विमानले उडान भरे पनि त्यसयता उडान हुन सकेको छैन ।

अन्य खाद्यान्न यसअघि भण्डारण गरेर राखिएकाले समस्या नभए पनि तरकारी तथा फलफूल भने भण्डारण गर्न नमिल्ने भएकाले समस्या भएको स्थानीय होटल व्यवसायी तोयाकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार त्यस क्षेत्रमा तरकारी उत्पादन नहुने र सडक यातायातको पहुँच नपुगेकाले ताजा तरकारी, मासु, अण्डा, फलफूलका लागि हवाई सेवामै भर पर्नुपरेको छ ।

यतिखेर सिजन नभए पनि फाटफुट पर्यटक आइरहने भएकाले होटलमा सेवा दिन समस्या हुन थालेको होटल व्यवसायी तेम्बा शेर्पाले बताउनुभयो । उडान नहुँदा झन्डै ३० जना यात्रु लुक्लामै रोकिएका छन् । एक हप्तायता हेलिकप्टर तथा जहाजले कुनै पनि उडान भर्न नसक्दा यात्रुहरू समस्यामा परेको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web