कालीकोट । कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको शुभकालीका गाउँपालिका १ कालेखोलामा गएकाे पहिरोमा परि २५ वर्षीया विमला सुनारको ज्यान गएको छ ।
राजमार्ग माथिबाट आएको ढुङ्गाले च्यापिएको अवस्थामा भेटिएकी सुनारलाई प्रहरीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल कालीकोट लैजाँदै गर्दा बाटोमा नै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले जानकारी दिनुभयो ।
वर्षाका कारण सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्गको दुई ठाउँमा पहिरो गएका कारण राजमार्ग बन्द भएको कालीकोटका प्रहरी प्रमुख शाहले बताउनुभयो । ‘बिहान दैलेख र कालीकोटको सिमानामा पर्ने कालेखोला र एसमोडमा पहिराे खसेको छ‘, उहाँले भन्नुभयो, ‘पहिराेका कारण यातायातका साधन बीच बाटोमै रोकिएका छन् ।’
अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरी प्रमुख शाहले जानकारी दिनुभयो ।
20.85¡ÆC