बीपी प्रतिष्ठानका निर्देशक राजीनामा दिन तयार

साउन ३०, २०७८ मा प्रकाशित | 424 views

सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर साह राजीनामा दिन तयार भएका छन् । निर्देशक साहले अन्य तीन जना पदाधिकारीले पनि राजीनामा दिनुपर्ने बताएका छन् ।

उनले आफूभन्दा वरिष्ठ पदाधिकारीको शक्ति संघर्षको कोपभाजनमा परेको उल्लेख गर्दै हाल प्रतिष्ठानमा आन्दोलनरत पक्षले चारै पदाधिकारीको राजीनामा माग गरेकाले सबैले राजीनामा दिएर प्रतिष्ठानको हितमा मार्गप्रशस्त गर्न उचित हुने बताए । उनले भने, ‘पदाधिकारीको रुपमा नियुक्ति भएको भोलिपल्टैदेखि शक्ति संघर्षमा लागेर प्रतिष्ठानलाई अनिर्णयको बन्दी बनाउने, प्रतिष्ठानको आचारसंहिताविपरीत गोपनीयता भंग गरी एकले अर्कोलाई हानीगर्ने, उपकुलपतिले असीमित अधिकार लिएर एकल रुपमा प्रयोग र निर्णय गर्ने जस्ता विवादास्पद कामले प्रतिष्ठानको बदनाम गरेकाले मभन्दा माथिका तीन जनाले तत्काल नैतिकताका आधारमा राजीनामा दिएर समस्याको समाधान गर्नु उचित हुन्छ ।’

आफूले राजीनामा दिने मानसिकता बनाएपछि प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरि, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीसँगै अनौपचारिक छलफल गरेर प्रतिष्ठानको समस्या समाधान गर्न मार्गप्रशस्त गर्न सुझाव दिएको तर तीनै जनाले नमानेपछि औपचारिक धारणा तयार गरेको निर्देशक साहको भनाइ छ । उनले भने, ‘पदाधिकारीको पदभन्दा बीपी प्रतिष्ठानको प्राध्यापक पद आफ्नो जीवनको उपलब्धि मानेकाले प्रतिष्ठानलाई अनिर्णयको बन्दी हुनबाट मुक्त गर्न आफूसहित चारै पदाधिकारीको राजीनामा अपरिहार्य रहेको पनि छ ।’

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web