त्रिशूली । नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाले मास्क अभियान सञ्चालनमा ल्याएको छ ।
‘कोरोना रोगको महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता : मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने नारा सहित रेडक्रस नुवाकोटले सही रुपमा मास्कको प्रयोग अनिवार्य गराउन जिल्लाको मुख्य–मुख्य बजार क्षेत्रमा ‘मास्क अभियान’ सुरु गरेको हो ।
जिल्लाको त्रिशूली, विदुर, बट्टार लगायतको बढी भिडभाड हुने बजार क्षेत्रमा सञ्चालन गरिएको मास्क अभियानको सचेतना कार्यक्रममा रेडक्रस नुवाकोटका कार्यबाहक सभापति निरञ्जनप्रसाद आचार्यले कोरोना रोगको महामारीको समयमा मास्क लगाइराख्ने प्रतिबद्धता सबैले गर्नुपर्ने भन्दै त्यसको लागी मास्क नलगाएका व्यक्तिलाई प्रदान गरेर अभियानको सुरु गर्नुभएको हो । मास्कलाई सही तरिकाले लगाउन र अनिवार्य रुपमा प्रयोग गर्नको लागी रेडक्रसको जिल्ला शाखा सहित उपशाखाहरु मार्फत पनि अभियान सञ्चालन गरिने भएको छ ।
कोरोना रोगलाई रोक्न पहिलो सुरक्षित अभ्यास ‘मास्कको प्रयोग’ भएकाले सही प्रयोगको लागी जनचेतना जगाउन र मानिसको व्यवहार परिवर्तन गराउनको लागी मास्क अभियानको पहिलो दिन मंगलबार दुई हजार पाच सय थान मास्क वितरण गरिएको रेडक्रस जिल्ला शाखा नुवाकोटका उप–कोषाध्यक्ष एंवम् स्वास्थ्य शाखा संयोजक उद्धव शर्मा रिजालले जानकारी दिनुभएको छ ।
नेपाल सरकारको आह्वानबाट मात्रै कोरोना भाइरसको सक्रमण रोकथाम तथा नियन्त्रण गर्न सम्भव नभएकाले सबै व्यक्तिबाटै मास्कको प्रयोग अनिवार्य गर्न आवश्यक रहेको रेडक्रस नुवाकोट मार्फत सञ्चालित PREPARE (प्रिपियर) कार्यक्रमका संयोजक मधुसुधन थापाले अभियानको क्रममा बताउनुभएको छ ।
पछिल्लो समयमा नुवाकोटमा निषेधाज्ञा खुकुलो बनाएसँगै बजार र सार्वजनिक सेवा प्रवाह गर्ने क्षेत्रमा मानिसको भीड बढेसगैँ त्यसलाई रोक्न तथा व्यबहार परिवर्तनको लागी नेपाल सरकारले गएको शनिबारदेखि सुरु गरेको ‘मास्क अभियान’मा नुवाकोट उद्योग बाणिज्य संघ, नेपाल प्रहरी सहित रेडक्रस मार्फत सचेतना कार्यक्रम चलाइएको हो ।
कार्यक्रम मार्फत बजार क्षेत्रमा कतिपय मानिसले एक आपसमा कुराकानी गर्दा मास्क फुकाल्ने, चिउडोमा लगाएर हिडडुल गर्ने, सही तरिकाले नलगाउने लगायतका ब्यबहार देखिएकाले त्यसलाई सुधार गर्न सचेतना कार्यक्रम चलाइएको रेडक्रस नुवाकोटका सामुदायिक प्रशिक्षक समुन्द्रबाबु अधिकारीले जानकारी दिनुभएको छ ।
अभियानमा रेडक्रस जिल्ला शाखा नुवाकोटका पदाधिकारी तथा रेडक्रसकर्मीे मास्कको प्रयोगले आफूलाई मात्र नभएर आफ्नो परिवारदेखि समाजलाई समेत कोरोनाबाट बचाउन महत्वपूर्ण सहयोग हुने भएकाले अनिवार्य रुपमा लगाउन आग्रह गरिएको छ ।
अभियानको क्रममा ‘तपाईको मास्क खै ?’ मास्कको नियमित प्रयोग गरौं, भौतिक दूरी कायम गरौँ र गर्न लगाऔँ, भीडभाड गर्दै नगरौँ, अनावश्यक हिँडडुल नगरौं’ लगायतका सन्देश सहितको माइकिक समेत गरिएको छ । मंगलबारदेखि सुरु भएको अभियान निरन्तर चल्ने रेडक्रस नुवाकोटले जनाएको छ ।
18.17¡ÆC