नमोबुद्धका अशक्तलाई घरमै सामाजिक सुरक्षा भत्ता

साउन १८, २०७८ मा प्रकाशित | 466 views

काभ्रेपलाञ्चोक । सामाजिक सुरक्षा भत्ता पाउने अशक्त नगरवासीका लागि काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले घरघरमा नै पुगेर भत्ता वितरण गर्न थालेको छ । बैंकसम्म पुगेर गत आर्थिक वर्षको तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता लिन बाँकी रहेकालाई नगरपालिकाको सामाजिक सुरक्षा शाखाका कर्मचारीसहित बैंकका कर्मचारीको टोलीले भत्ता वितरण गर्न शुरु गरेको हो ।

टोलीले घरघरमा नै पुगेर मोबाइल बैैंकिङमार्फत भत्ता वितरण गर्न थालेको नगरपालिकाले जनाएको छ । सोही क्रममा आइतबार वडा नं २ का २० व्यक्तिलाई लुम्बिनी विकास बैंकका कर्मचारीसहितको टोली पुगेर भत्ता वितरण गरिएको थियो ।

बैंकसम्म जान नसक्ने दीर्घरोगी तथा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर भत्ता वितरण गर्न थालिएको नगरपालिकाको सामाजिक सुरक्षा शाखा प्रमुख श्याम खनालले बताउनुभयो । नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने सूचीमा तीन हजार २९१ रहेका छन् । त्यसमध्ये मासिक रु तीन हजार भत्ता पाउने ७० वर्षमाथिका ज्येष्ठ नागरिक एक हजार ९०२ रहेका छन् भने रु दुई हजार मासिक सामाजिक सुरक्षा भत्ता पाउने ६० वर्षमाथिका दलित ज्येष्ठ नागरिकको सङ्ख्या १२१ रहेको नगरपालिकाले जनाएको छ ।

त्यस्तै रु दुई हजार मासिक भत्ता पाउने ज्येष्ठ नागरिक एकल महिला ३९३ तथा रु दुई हजार नै भत्ता पाउने एकल महिला ५०२ रहेका छन् । त्यसैगरी मासिक रु तीन हजार भत्ता पाउने पूर्ण अपाङ्गता भएकाको सङ्ख्या ७१, मासिक रु एक हजार ६०० पाउने आंशिक अपाङ्गता भएकाको सङ्ख्या ७५ तथा मासिक रु ४०० भत्ता पाउने दलित बालबालिका (जन्मेदेखि पाँच वर्षसम्मका) को सङ्ख्या २२७ रहेको नगरपालिकाको सामाजिक सुरक्षा शाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web