वीर अस्पतालमा धर्ना दिइरहेका स्वास्थ्यकर्मीमाथि लाठीचार्ज

साउन १७, २०७८ मा प्रकाशित | 497 views

काठमाडौँ । सेवासुविधासहित विभिन्न ५ सूत्रीय माग राख्दै धर्ना दिइरहेका वीर अस्पतालका स्वास्थ्यकर्मी तथा प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमबीच छलफलको क्रममा भनाभन भएपछि प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज गरेको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी युनियनका सचिव दीपक मुडभरीका अनुसार विभिन्न ५ सूत्रीय मागसहित धर्ना दिइरहेका कर्मचारीसँग छलफलको क्रममा तनावपूर्णस्थिति सृजना भएपछि डा. गौतमले प्रहरी बोलाएका थिए । प्रहरीले कर्मचारीहरुलाई बैठकस्थलबाट निकाल्नका लागि बल प्रयोग गरेको थियो । सो क्रममा अस्पतालका ५ जना कर्मचारी घाइते भएका छन् । उनीहरुको अस्पतालकै इमर्जेन्सीमा उपचार भइरहेको छ ।

‘हामीले आफ्नो जायज माग राखेर धर्ना दिइरहेका थियौं । सोही क्रममा उहाँसँग छलफलका लागि गएको बेलामा प्रहरी बोलाएर कुटाउनुभयो,’ सचिव मुडभरीले भने, ‘त्यसपछि डा. गौतम दर्जनौं प्रहरीको घेरामा बसेर अस्पतालबाट बाहिरिनुभयो ।’ उनले धर्ना कार्यक्रम सोमबार पनि जारी रहने जानकारी दिए । डा. गौतमको प्रतिक्रियाका लागि गरिएको प्रयास भने सफल हुन सकेन ।

कर्मचारी युनियनले २०७७ साल भदौदेखिको कोभिड भत्ता, असोजदेखिको सेवा विस्तार भत्ता र ०७७ सालको औषधि खरिद भत्ताको माग गरेर धर्नामा बसिरहेका छन् । यस्तै उनीहरुले यथाशीघ्र कोभिड-१९ युनिफाइड अस्पताल संचालन हुनुपर्ने र डा. गौतमले अनियमित ढंगबाट म्याक्सिम इन्कर्पोरेसनलाई दिएको करोडौंको टेण्डरको अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

‘हाम्रो माग भनेको हामीले पाउनुपर्ने भत्ता दिनुपर्‍यो भन्ने हो,’ सचिव मुडभरीले भने, ‘उनले आफ्नै पार्टनरको कम्पनीलाई करोडौंको सामान किन्ने ठेक्का दिए । अहिले त्यही कम्पनीले समयमा सामन दिन नसक्दा अस्पताल संचालनमा आएको छैन ।’

यस्तै, वीर अस्पतालको नेपाल स्वास्थ्यकर्मी संघले एक विज्ञप्ति जारी गर्दै डा. गौतमले फिर्ता नभएसम्म र प्रहरीले माफी नमागेसम्म कडा अन्दोलनमा उत्रन बाध्य हुने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web