बझाङ । पछिल्लो समय बझाङका लेकाली वन मासिँदै गएका छन् । लेकाली वन तथा झाडीहरु फडानी हुने क्रम बढ्दो छ । उराठ देखिन थालेका छन् डाँडाकाँडा ।
वैशाख देखि असार सम्म यार्सागुम्बा सङ्कलनका लागि र भदौ देखि मंसिर सम्म यहाँका जङ्गलमा अन्य जडीबुटी खोज्न मानिसहरु लेकाली वन क्षेत्रमा पुग्ने गर्दछन् । केही वर्षयता यार्सा तथा अन्य जडीबुटी सङ्कलन गर्न हिमाली क्षेत्रमा जानेको संख्या बढ्दै गएको छ । हरेक वर्ष बझाङमा यार्सा सङ्कलनका लागि मात्रै ४८ हजार भन्दा बढी मानिसहरु लेकतिर जाने गरेका छन् । जडीबुटी सङ्कलन गर्न जानेहरुले दाउराको लागि जथाभाबी वन फडानी गर्दा हिमाली वन मासिदै गएको छ ।
बुंगल नगरपालिकाको हिमाली भेगमा पर्ने थानपाटन, धौलाढुंगा, चुपी, ठाडीगाड, भिडेगडा लगायतका क्षेत्रमा पर्ने वन उजाडिइसकेको छ । साइपाल गाउँपालिकाको माझा, फरालखेत, राइढुगी, औंलागाड, स्याङवन दोतले, इंगलदार लगायतका ठाउँको ठूलो वन क्षेत्र पनि मासिदै जान थालेको छ । सुर्मा गाउँपालिका अन्तर्गतका जलजला, डाँफेचुली, तपोवन, डाँडा, जर्सी, गोलढुंगालगायतका वनको अवस्था पनि उस्तै छ ।
18.17¡ÆC