कोराना संक्रमण बृद्धि, अस्पतालमा बिरामीको चाप

साउन १४, २०७८ मा प्रकाशित | 471 views

काठमाडौँ । देशभर कोरोना संक्रमण फेरि विस्तार हुन थालेको छ । जसका कारण देशका विभिन्न स्थानका अस्पतालहरूमा बिरामीको चाप बढ्न थालेको छ । प्रदेश १ मा कोभिड–१९ परीक्षण गरिएकामध्ये ३० दशमलव ६३ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रका आईसीयू, भेन्टिलेटर, एचडीयू पूर्ण रूपमा भरिएका छन् । केन्द्रमा २१ आईसीयू, १५ भेन्टिलेटर, ४७ एचडीयू र २८ जेनेरल शय्या छन् । अस्पतालका अनुसार ४ संक्रमित जेनेरल शय्यामा भर्ना भएका छन् । यस्तै, कोसी अस्पतालको आईसीयूमा २० र भेन्टिलेटरमा ५ जना बिरामी भर्ना छन् ।

झापाको मेची अस्पतालको एचडीयूमा २३ र जेनेरलमा १५ गरी ३८ जना उपचाररत छन् । अस्पतालमा ५८ जेनेरल, ४ आईसीयू, ५ भेन्टिलेटर, ५० एचडीयू गरी कुल १ सय १७ शय्या छन् । विराटनगरस्थित नोबेल अस्पतालको कोभिड वार्डमा आईसीयूमा १ र एचडीयूमा २ गरी ३ जना उपचाररत छन् । अस्पतालमा ८२ आईसीयू, २९ भेन्टिलेटर, १ सय १५ एचडीयू बेड छन् । यस्तै, विराट शिक्षण अस्पतालको कोभिड वार्डअन्तर्गत ४० संक्रमित उपचाररत छन् । अस्पतालमा ३३ आईसीयू, १७ भेन्टिलेटर र ९३ एचडीयू गरी १ सय २६ शय्या छन् । न्युरो अस्पतालमा १९ संक्रमित उपचाररत छन् ।

झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालका २ सय शय्यामध्ये ३३ मा बिरामी छन् । त्यस्तै, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा पनि एक सातायता उपचार गराउन आउने संक्रमितको संख्या बढेको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार हाल ५९ संक्रमितको उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web