खोप केन्द्रबाटै संक्रमणको डर

साउन ५, २०७८ मा प्रकाशित | 373 views

काठमाडौँ । सर्वसाधारणको लामो लाइन छ । सरकारी मापदण्ड ‘भौतिक दूरी’ लाई लाइनमा गुम्सिएकाहरूले गिज्याइरहेका छन् । खोप केन्द्रमा पुगेका कतिपयले त मास्कसमेत लगाएका छैनन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल स्वास्थ्य चौकीमा सोमबार देखिएको दृश्य हो यो ।

कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउन करिब ६ सय सर्वसाधारणको अनियन्त्रित भीड भए पनि यहाँ खोप भने ४ सय डोज मात्र उपलब्ध थियो । भीड नियन्त्रणका लागि वडाध्यक्ष किरण थापा र स्वास्थ्यकर्मीको समन्वयमा टोकनको व्यवस्था गरियो । तर स्थानीय भने भीडबाट निस्किन आनाकानी गरिरहेका थिए । वडाध्यक्ष थापाले टोकन नहुनेलाई फिर्ता हुन र मंगलबार फेरि आउन पटकपटक आग्रह गर्नुपर्‍यो ।

‘आउन–जानको दुःख मात्र भयो, २ घण्टा लाइन बसिसकेर फिर्ता पठायो,’ सूर्यविनायकबाट सिपाडोल पुगेकी सुकुमाया भुजेलले भनिन्, ‘अस्ति भेरोसेल खोप लगाउन आएकी थिएँ, सिद्धियो भन्दै फर्कायो ।’ सूर्यविनायक–८ ठूलोगाउँकी सीता केसीले भने ३ घण्टा भीडभाडमा बसेरै भए पनि खोप लगाउन भ्याइन् । ‘खोप त जसरी पनि लगाउनैपर्‍यो,’ उनले भनिन्, ‘तर भीडबाटै कोरोना सर्ने डरले अत्याएको छ, खोप केन्द्र व्यवस्थित भएन ।’ स्थानीय सुरेन्द्र कार्कीले स्वास्थ्य सुरक्षा मापदण्डको पालना नहुने हो भने वर्षौंसम्म पनि कोरोना नहट्ने बताए ।

वीर अस्पतालको नयाँ भवनको भुइँ तलामा खोप लगाउने व्यवस्था गरिएको थियो । गेटबाट नै सुरक्षाकर्मीले उमेर र खोप लगाउनुको उद्देश्य सोध्दै भित्र पठाइरहेका थिए । ‘भौतिक दूरी अपनाउनु भन्यो, एकछिन सर्छन्, फेरि एकै ठाउँमा हुन्छन्,’ अस्पतालका कोभिड फोकल पर्सन डा. अच्युत कार्कीले भने । मन्त्रालयबाट फोन आए पनि करिब साढे २ बजेदेखि रजिस्ट्रेसन र वैदेशिक रोजगारमा जानकै लागि खोप लगाउन आउनेलाई खोप बन्द गरिएको उनले बताए । निजामती कर्मचारी अस्पताल (सिभिल) ले भने खोपका लागि टोकन प्रणाली लागू गरेको छ । टोकनकै लागि अस्पतालको गेटभन्दा बाहिरसम्म लाइन देखिन्थ्यो । अस्पतालका खोप संयोजक डा. दीपक पौडेलले ५०–५४ उमेरका, स्वास्थ्यकर्मी, अपांगता भएका र विदेश जान लागेका व्यक्तिलाई खोप लगाइएको बताए । ‘हिजोअस्ति त अझ धेरै भीड थियो,’ उनले भने, ‘टोकन सिस्टम लागू गरेपछि आजदेखि व्यवस्थित भएको छ ।’

राजधानीमा काठमाडौं महानगरसहित ११ वटा नगरपालिकाका अस्पताल तथा स्वास्थ्य संस्थामा ५५ वटा खोप केन्द्र तोकिएको छ । ललितपुर महानगरमा भने खोपको जिम्मेवारी वडाध्यक्षहरूले लिएका छन् । तर केन्द्रको उचित व्यवस्थापन नहुँदा ज्येष्ठ नागरिकले बढी सास्ती भोग्नुपरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web