काठमाडौ । नेकपा एमालेका नेताहरुले पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। केपी शर्मा ओली समूहको स्थायी कमिटी बैठकले विघटन गरेको पार्टी एकता कार्य दलका सदस्यहरु फेरि एकताका लागि एकजुट भएका हुन्।
शनिबार विहान सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा ओली र माधव नेपाल समूहका नेताहरुको बैठकले पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने निष्कर्ष निकालिएको नेताहरुले बताएका छन्। पार्टी एकताका लागि गठित कार्यदलले जुटाएको १० बूँदे सहमति कार्यान्वयन गर्दै अघि बढने निर्णय गरिएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।
‘पार्टी एकताका लागि अनुमोदन गरिएको १० बूँदे सहमतिलाई कार्यान्वयन गर्दै अगाडि बढदा पार्टी एकतावद्ध बनाउन सकिन्छ। नेकपा एमाले एकतावद्ध हुँदा देशको कम्युनिष्ट आन्दोलनलाई, लोकतान्त्रिक आन्दोलनलाई र संविधानलाई सवल बनाउन सकिन्छ। सोही निष्कर्षका साथ सो १० बूँदे सहमतिलाई कार्यान्वयन गर्दै अगाढि बढने निष्कर्षमा पुगेका छौं। हामी सोही रुपमा अघि बढछौं’ उनले भने।
माधव नेपाल समूहका नेता गोकर्ण विष्टले पार्टीलाई एकतावद्ध बनाउन आम पार्टी पंक्तिको चिन्ता र सरोकारलाई सम्बोधन गर्न स्थायी समितिका नेताहरुबिच अनौपचारिक छलफललाई अघि बढाइएको बताए।
ओली समूहले विघटन गरेको एकता कार्यदलका सदस्य समेत रहेका विष्टले भने, ‘पार्टीका सबै नेता, कार्यकर्ताहरुको यति लामो योगदानबाट निर्मित पार्टीलाई एकतावद्ध बनाउन हामीले हाम्रा प्रयत्नहरुलाई केन्द्रित गर्नु स्वभाविकै हो। हामीले आफ्ना आफ्ना ठाउँबाट पार्टीलाई एकजुट बनाउनका लागि हाम्रा प्रयत्नहरुलाई जारी राख्नु पर्दछ। पार्टी कार्यकर्तामा देखा परेको, अन्यौलता र चिन्तालाई दूर गर्नका लागि फेरी पनि यो पार्टीलाई कुनै पनि सर्तमा जोगाउँछौं, एकतावद्ध पार्छौं भन्ने सन्देशका लागि पनि अनौपचारिक रुपमा भेटघाट गर्ने काम स्वभाविक छ।’
शुक्रबार बसेको एमाले स्थायी समिति बैठक र संसदीय दलको बैठकले पार्टी एकताका लागि गठित कार्य दलले तयार पारेको १० बूँदे सहमति अनुमोदन गरेको थियो। साथै एकता कार्यदल विघटन गर्ने निर्णय गरेको थियो। दुवै बैठक माधव नेपाल समूहले बहिष्कार गरेको थियो। माधव नेपाल समूहले बैठक रोकेर छलफल अघि बढाउन भनेपनि ओलीले अस्वीकार गरेका थिए।
19.12¡ÆC