निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न माग

साउन १, २०७८ मा प्रकाशित | 523 views

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालाई छुट्टाछुट्टै भेट गरी तत्काल निजी क्षेत्रलाई कोभिड खोपको पहिलो प्राथमिकतामा राख्न माग गरेको छ ।

थिलथिलो भएको मुलुकको उद्योग व्यवसाय र अर्थतन्त्रलाई माथि उठाउन तत्काल खोपको आवश्यकता रहेको महासंघले जनाएको छ ।

बजेटमा समेटिएका निजी क्षेत्रका लागि ल्याइएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन, साना तथा मझौला उद्यम व्यवसायलाई तत्काल स्टिमुलस प्याकेज ल्याउन र लामो समयदेखिको ट्रंक तथा डेडिकेटेड लाइनको समस्या समाधान गर्न पनि प्रतिनिधिमण्डलको जोड छ ।

कोभिडले थलिएको उद्योग व्यवसायलाई माथि उठाउन महासंघका अध्यक्ष शेखर गोल्छाले अनुरोध गरे । अर्थतन्त्रलाई टिकाउन अग्रभागमा रहेर काम गर्ने उद्योगी व्यवसायी र कर्मचारीलाई खोप अनिवार्य व्यवस्था गर्न महासंघ टोलीले दुवै भेटवार्तामा आग्रह गर्‍यो ।

‘हामीले दिएका सुझाव बजेटमा समेटिएका छन्, मौद्रिक नीतिका लागि पनि सुझाव दिएका छौं,’ अध्यक्ष गोल्छाले भने, ‘तिनको प्रभावकारी कार्यान्वयन खोजेका छौं ।’ एक दशकभित्र मुलुकको अर्थतन्त्र कस्तो हुने भन्ने लक्ष्यसाथ महासंघले नेपाल राष्ट्रिय आर्थिक रणनीतिपत्र २०३० (नेट २०३०) सार्वजनिक गरेको उनले बताए । भेटवार्तामा प्रधानमन्त्री देउवाले समग्र उद्योग व्यवसाय र अर्थतन्त्रको कमजोर अवस्थालाई माथि उठाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web