हलोक्रान्तिका अभियन्ता मायानाथ पौडेलले आत्महत्या गर्नुभएको छ । दुराडाँडा–६ अर्चल्यानी निवासी ८६ बर्षिया पौडेलले शुक्रबार दिउसो २ बजेतिर आफ्नै घरको पालीमा झुण्डिएर आत्महत्या गर्नुभएको हो ।

२००६ साल साउन ११ गते पहिलोपटक हलो जोत्ने २७ जना ब्राम्हण मध्ये पौडेल एक हुनुहुन्थ्यो । हलोक्रान्तीका अभियन्ताहरुमा हाल पौडेल मात्र जिवित हुनुहुन्थ्यो । अन्य सबैको यसअघि निधन भैसकेको छ । बृद्ध अबस्थामा एक्लै पर्नुभएका पौडेल मानसिक तनावकै कारण आत्महत्या गरेको स्थानीय बताउँछन ।

पौडेलका छोरा नारायणको दुईवर्ष अघि निधन भएको थियो । छोराको निधनपछि बुहारी र दुृईवटा नाती चितवनमा बस्दै आएका थिए । पौडेलका भतिज एवं नेपाल पत्रकार महासंघ लमजुङका पूर्व अध्यक्ष सन्तोष पौडेलले तनावकै कारण उहाँले आत्महत्या गरेको हुनसक्ने बताउनुभयो । ‘बुढेसकालमा एक्लै पर्दा निकै चिन्तित हुनुहुन्थ्यो । खानेबस्ने अबस्था निकै दयनीय थियो ।’, पौडेलले भन्नुभयो, ‘तनाव झेल्न नसकेरै उहाँले आत्महत्या रोज्नुभयो जस्तो लाग्छ ।’

प्रहरीले घटनास्थलको अनुसन्धान गरि मुचुल्का उठाएको छ । पौडेलको शव पोष्टमार्टमका बेसीशहर ल्याइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

देशमा प्रजातन्त्रको उदय हुनु अघि विक्रम सम्बत २००६ साल साउन ११ गते मायानाथ पौडेल लगायत २७ जना ब्राम्हणहरुले पहिलो पटक नेपालमै हलो जोतेर क्रान्ति गरेका थिए । ब्राह्मणबाद तथा जातीय भेदभावसँगै हलीप्रथा अन्त्यको लागि पंण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारी, विष्णुप्रसाद अधिकारी, हरिलाल पौडेल लगायतका बाहुनले नेपालमै पहिलो पटक हलो जोतेका थिए ।

बाहुनहरुले पहिलोपटक हलो जोतेको स्मरणमा लमजुङको दुराडाँडाको अर्चल्यानीमा पंण्डित तोयानाथ अधिकारी स्मृति प्रतिष्ठानले बर्षेनी स्मरणको कार्यक्रम गर्दै आएको छ । हलोक्रान्ति दिवसलाई राष्ट्रब्यापी बनाउँदै हलोक्रान्तिका अभियन्ताहरुलाई राष्ट्रिय विभुती घोषणा गर्नुपर्ने लमजुङबासीको माग अझै पुरा हुन सकेको छैन ।

त्यतिबेला बाहुनले हलो जोतेको एकवर्षसम्म हल्ला–खल्ला मच्चिएको थियो । राणा शासनको विरोधमा हलो जोतेको अभियोगमा तत्कालिन सरकारले सामुहिक हलो जोत्नेहरुलाई २००७ साल साउन ११ गते पक्राउ गरी जेल हाल्यो । साथै हलो जोत्नेहरुको नजोत्ने बाहुनहरुले नै बिरोध गर्न थाले । उनीहरुलाई उल्याउन त्यतीखेर “शेषकान्त लेप्टन, हरिभक्त तिघ्रे, तोयानाथ पण्डित हलो जोति बिग्रे” भन्ने गीतै बनाएका थिए । पहिलोपटक २००६ सालमा दुराडाँडामा हलो जोतेपछि २००८ सालसम्ममा तनहुँ, कास्की, धादिङ, अर्घाखाँची, गोरखा र स्याङ्जामा पनि हलो जोत्न शुरु भयो । त्यसबेला हलो जोत्नेहरुलाई भात ठेगियो माईत आएका छोरी घर जान पाएनन् । घर गएका बुहारी माईत आउन पाएनन् भने उमेर पुगेका युवायुवतीहरुको विहे रोकियो । जोतेको समयमा हेर्न जानेलाई समेत भात काढियो । कतिले हेर्न गएको थिइन भनी ढाँटेर विहे गर्नुप¥यो । समाज अस्तव्यस्त भयो ।

तर बाहुनले हलो जोतेको भनेर गरिएको विभेद ३ वर्ष पनि टिकेन बरु हलो जोत्न हुन्छ भन्ने भावनाको विकास भयो । हलोक्रान्तिको धेरैले प्रंशसा गर्न थाले । पहिला जोत्ने ठाउँमा गएको थिइन भनेर ढाँट्नेहरु पनि पछि त म पनि गएको थिए भन्न थाले ।

15.47¡ÆC