एजेन्सी । अष्ट्रेलियाले जंगलमा रहेका २० लाख भन्दा धेरै बिरालो मार्ने योजना अघि सारेको छ । अष्ट्रेलियाका स्थानीय वन्यजन्तुलाई नकारात्मक असर पुर्याइरहेको भन्दै अष्ट्रेलियाको सरकारले २० लाख जंगली बिरालोलाई मार्ने योजना अघि सारेको हो । हाल अष्ट्रेलियाका जंगलमा २० देखि ६० लाखसम्म जंगली बिरालो रहेको अनुमान छ ।

यस योजनाअनुसार आगामी वर्षबाट हेलिकोप्टरबाट विषाक्त मासु जंगलमा खसालेर बिरालोलाई मारिनेछ । अष्ट्रेलिया सरकारले विज्ञप्ति जारी गर्दै जंगली बिरालोले अष्ट्रेलियाको वन्यजन्तु र जंगली वातावरणलाई नकारात्मक असर पुर्याइरहेकाले त्यसलाई निवारण गर्नु यो कार्यक्रमको उद्देश्य रहेको जनाएको छ ।

अठारौँ शताब्दीमा युरोपबाट बिरालो अष्ट्रेलियामा ल्याइएको र त्यसयता बिरालोकै कारण अष्ट्रेलियाका २७ भन्दा धेरै स्तनधारी प्राणी लोप भइसकेको बताइन्छ ।

यो योजना अनुसार कङ्गारुको मासु, कुखुराको बोसो र जडिबुटीमा १०८० नाम गरेको विष मिलाएर हेलिकोप्टरबाट बिरालो रहेको जंगली क्षेत्रमा चारो हालिनेछ । १०८० नामक विषाक्त पदार्थ जनावरका लागि निकै नै घातक हुने गर्छ । त्यसपछि चारो खाएको १५ मिनेटभित्रै बिरालोको ज्यान जाने अनुमान छ ।

चारो हालेर बिरालो मार्नेबाहेक केही अवस्थामा सरकारले गोली हानेर र जालमा फसाएर समेत बिरालो मार्ने जनाइएको छ ।

त्यसबाहेक अष्ट्रेलियाका केही राज्यले जंगली बिरालो मारेर ल्याउनेलाई पुरस्कारको समेत व्यवस्था गरेका छन् । यसअनुसार क्विन्सल्याण्ड राज्यले जंगली बिरालो मारेर ल्याए ७ अष्टे«लियन डलर उपलब्ध गराउँदै आएको छ ।

सरकारको यस्तो कदमको भने अष्ट्रेलियाका पशु अधिकारवादी संस्थाले भने चर्को विरोध गरेका छन् ।

19.12¡ÆC