काठमाडौं ।
राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने कार्य भैरहँदा सडक क्षेत्रमा धुलोका कारण जनताको स्वास्थ्यमा नराम्रो असर पर्न थालेपछि तत्काल अस्थायी नै भएपनि सडक पिच गर्न थालिएको समाचार छ ।
मेलम्ची आयोजनाले भत्काएको बाटो समयमा कालोपत्र नहुँदा उपत्यकामा धुलोको मात्रा अत्याधिक बढेकोले चाँडो कालोपत्र गर्न खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले निर्देशन दिनुभयो ।
गएराति राज्यमन्त्री खड्काले कान्तिपथ, लाजिम्पाट र पानीपोखरीमा भइरहेको मेलम्ची खानेपानीको कामको बारेमा जानकारी लिनुभएको थियो ।
हालसम्म मेलम्चीको सुरुङ् खन्ने काम २७ किलोमिटरमध्ये २३ किलोमिटर सम्पन्न भएको तथा मुख्य पाइप बिच्छ्याउने काम ६१ किलोमिटरमध्ये ४१ किलोमिटर र शाखा पाइप बिच्छ्याउने काम ६ सय ७० किलोमिटरमध्ये ५ सय ५० किलोमिटर बिच्छ्याइसकिएको आयोजनाका प्रमुख तिरेशकुमार खत्रीले जानकारी दिनुभयो ।
20.28¡ÆC