वैकल्पिक सडक निर्माणमा जुट्दै सूर्यगढी गाउँपालिका

अशोज ११, २०८३ मा प्रकाशित | 14 views

वैकल्पिक सडक निर्माणमा जुट्दै सूर्यगढी गाउँपालिका
नुवाकोट । भोटेकोशी तथा त्रिशूली नदीमा गएको बाढीले रसुवागढीसम्म जोडिएको अन्तरराष्ट्रिय सडकको अधिकांश भाग बगेसँगै अहिले वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काम अघि बढेको छ ।
नुवाकोटको सूर्यगढी गाउँपालिकाले नदी तटसँगै रहेको सडकमा ठूला क्षति पुगेपछि वैकल्पिक सडक निर्माणको काम अघि बढाएको हो । सो गाउँपालिकाका प्रमुख शान्तबहादुर लामाले नुवाकोटको चोगदेदेखि गैरीखर्क, कुवापानी, मस्याङभञ्ज्याङ हुँदै ओख्ले बगरस्थित फलाखुखोलासम्म पुग्ने सडक सुधार तथा फराकिलो बनाउने काम सुरु गरिएको जानकारी दिनुभयो ।
अध्यक्ष लामाले भन्नुभयो, “वैकल्पिक मार्ग बनाउनेगरी पुरानो ट्र्याकलाई आवश्यकताअनुसार स्तरोन्नति र फराकिलो बनाउने काम भइरहेको छ । करिब एक महिनाभित्र सडक सुधारको प्रारम्भिक काम पूरा गर्ने लक्ष्य लिएका छौँ ।”
सडक सुधारको काम पूरा भएपछि पूर्वाधार विकास कार्यालयमार्फत फलाखुखोलाको ओख्ले बगरमा ‘बेलिब्रिज’ निर्माण गर्ने तयारी रहेको गाउँपालिकाले जनाएको छ । ‘बेलिब्रिज’ निर्माण भएसँगै नुवाकोटबाट रसुवा प्रवेश गर्ने वैकल्पिक सडकको व्यवस्था हुनेछ ।
स्थानीयका अनुसार ओख्ले बगरमा ‘बेलिब्रिज’ निर्माण भएपछि रसुवाको पाहाखोला दोभान तथा क्रसर क्षेत्रबाट धुसेनी, सिम्लेभोर्ले, अधिकारी तथा देवकोटा टोलबाट धारापानी, जीवजीवे हुँदै घुम्तीमोडस्थित पासाङल्हामु मार्गसम्मको यात्रा सहज हुनेछ ।
रसुवा–धुसेनीका स्थानीय धर्मदत्त अधिकारीले प्रस्तावित सडक सञ्चालनमा आएमा जिल्लाको दक्षिणी तथा उत्तरी भेगबीचको आवतजावतमा सहज हुने बताउनुभयो । उहाँका अनुसार वैकल्पिक मार्ग प्रयोग गर्दा धुन्चेबाट काठमाडौँसम्म करिब साढे चार घण्टामा काठमाडौँ पुग्न सकिनेछ ।
बाढीबाट प्रभावित नुवाकोटको त्रिशूली–ढुङ्गे बजारदेखि रसुवागढीसम्मको सडकलाई साविककै नदी किनारको भन्दा जोखिम कम हुने स्थानतर्फ केही माथि सारेर निर्माण गर्नुपर्ने सुझाव स्थानीयवासीको छ ।
नागरिक समाजले ढुङ्गेबाट बाद्रे, सिम्बुटार, गेर्खुखोला, फूलबारी, गेर्खुटार, गैरीखर्क, सियाले, रिठ्ठेघारी, फलाखुखोला, पालेको वन, बनुवा, भलायोडाँडा, राम्चेको पलेप, पुरानो ठाडेगाउँ, भिमली, धुन्चे, ठूलोभार्खु, सानुभार्खु, ब्राबल, ठूलोस्याफ्रुको पुछार, भञ्ज्याङ, बृद्धिम र खैदी हुँदै रसुवागढीसम्म जोडिने वैकल्पिक अन्तरराष्ट्रिय मार्गको प्रस्ताव अघि सारेको छ ।
नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले नदी तथा खोलाको तटीय क्षेत्रभन्दा सुरक्षित भू–भागबाट सडक निर्माण गर्नसके भविष्यमा बाढीपहिरोबाट हुने क्षति कम गर्न सकिने बताउनुभयो ।
“अन्तरराष्ट्रिय व्यापारिक मार्गलाई पटकपटक प्राकृतिक विपत्तिको जोखिममा राख्नु हुँदैन”, उहाँले भन्नुभयो, “सुरक्षित भू–भागबाट दीर्घकालीन सडक निर्माण गर्न सके चीनसँगको व्यापारिक नाका जोड्ने मार्ग दिगो र भरपर्दो बनाउन सकिन्छ ।”
आधुनिक सडक सञ्जालको विकाससँगै नेपाल–चीनबीचको एक महत्वपूर्ण व्यापारिक नाकाका रूपमा रसुवागढी नाका स्थापित भएको छ । स्थानीय आवागमनका साथै द्विदेशीय नाकाका रुपमा परिचित रसुवागढी जोड्ने सडकलाई सुविधासम्पन्न र भरपर्दो बनाउनुपर्ने नागरिक समाजको माग छ ।
अब रणनीतिक एवं व्यापरिक पहत्वको सो सडक पुनःनिर्माणका क्रममा अब भूगर्भीय अध्ययन, बाढीको जोखिम, पहिरोको सम्भावना र वातावरणीय प्रभावलाई ध्यान दिनुपर्ने अध्यक्ष तामाङले बताउनुभयो । सूर्यगढी गाउँपालिकाले सुरु गरेको  वैकल्पिक सडक निर्माणको कामको उच्च मूल्याङ्कनसहित तारिफ गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web