चुनावी प्रयोजनका लागि अर्थ मन्त्रालयबाट १९ अर्ब १५ करोड बराबरको स्रोत सहमति

माघ १६, २०८२ मा प्रकाशित
Published at माघ १६, २०८२

57 views

काठमाडौँ । अर्थ मन्त्रालयले चुनाव प्रयोजनका लागि कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरेको छ । यसमध्ये ६ अर्ब ३६ करोड रुपैयाँ निकासा भइसकेको अर्थ मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

आउँदो फागुन २१ मा हुन लागेको चुनावका लागि निर्वाचन आयोगलाई गएको कात्तिक १८ मा ४ अर्ब ९६ करोड ६६ लाखको स्रोत सहमति दिइएको थियो । त्यसपछि मंसिर २० मा थप १ अर्ब ७७ करोड ९० हजार बराबरको स्रोत सहमति दिइएको अर्थ मन्त्रालयको तथ्याङ्क छ ।

अहिलेसम्म निर्वाचन आयोगलाई मात्र ६ अर्ब ३१ करोड निकासा भैसकेको छ । प्रतिनिधिसभा सदस्य चुनावको व्यवस्थापनमा केन्द्रित स्रोत सहमति र निकासालाई मन्त्रालयले प्राथमिकता दिएको देखिन्छ ।

त्यसैगरी, राष्ट्रिय अनुसन्धान विभागलाई कात्तिक १३ मा दुई करोड ८० लाख र नेपाली सेनालाई सुरक्षा उपकरण खरिदका लागि मंसिर २८ मा चार करोड ४२ लाख ५० हजार बराबर स्रोत सहमति दिइएको छ ।

गृह मन्त्रालय तथा अन्तर्गतका निकायलाई प्रतिनिधिसभा चुनावका लागि १० अर्ब ३९ करोड ३४ लाख बराबरको स्रोत सहमति प्रदान गरिएको छ, भने नेपाली सेनालाई चुनाव केन्द्रित चालू खर्चतर्फ एक अर्ब ९४ करोड ६८ लाख ५५ हजारको स्रोत सहमति दिएको तथ्याङ्क छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

©2025 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web