तादीखोलाको पानी नुवाकोट दरबार क्षेत्रका उपभोक्ताको घरमा

माघ १५, २०८२ मा प्रकाशित
Published at माघ १५, २०८२

142 views

नुवाकोट । विदुर नगरपालिकाको नगरप्रमुख (मेयर) राजन श्रेष्ठले निर्वाचनको समयमा जनाएका अधिकांश प्रतिबद्धता पूरा गर्दै आउनुभएको छ । निर्वाचनको समयमा मत माग्न जादा आफूले बनाएका योजना र मतदाताबाट माग भएका योजनालाई पूरा गर्दै अघि बढ्ने क्रममा उहाँले महत्वकाक्षी योजनाको रुपमा रहेको तादीखोलाको पानी नुवाकोट दरबार क्षेत्रको उपभोक्ता समक्ष पुराउन सफल नजिक हुनुभएको छ ।

हालसम्म उपभोक्ता समिति र निर्माण व्यावसायी मार्फत भएको काम अनुसार साढे पाच करोड लागतमा अहिले समवेयल प्रणाली मार्फत तादी खोला किनार, विदुर–२ को पुछारको पानी विदुर नगरपालिका–२ को सबैभन्दा उचाईमा अवस्थित नुवाकोट दरबार क्षेत्रमा पुराउन मेयर श्रेष्ठ सफल हुनुभएको हो ।

डिपिआर अनुसार उक्त योजना पूरा गर्न १२ करोड लाग्ने अनुमान गरिएको छ । तर, पहिलो चरणमा साढे पाच करोड लगानीमा नै प्रतिघण्टा २४ हजार लि. पानी नुवाकोटमा पुराउन सफल भएको हो । यस योजनालाई निर्धारित समय भन्दा ८ महिना अघि नै सम्पन्न गर्नको लागी नियमित रुपमा योजनाको अनुगमन र आवश्यक सहजिकरणको लागी नगरप्रमुख श्रेष्ठको भूमिका महत्वपूर्ण रहेको छ ।

उक्त योजनाको पानी तान्ने कार्यको परीक्षण मेयर श्रेष्ठको उपस्थितीमा बिहीबार खानेपानी तथा सरसफाइ डिभिजन नं. ६ को कार्यालय नुवाकोटले सम्पन्न गरेको छ । शेरा स्थित समवेयलबाट तानेको पानी बिहीबार नै गुरुङगाउँ स्थित ट्याङ्कीमा पुराइएको छ ।

योजना कार्यान्वयनको जिम्मेवारी पाएको खानेपानी तथा सरसफाइ डिभिजन नं. ६ को कार्यालयका प्रमुख दिलिप कुमारको अनुसार समवेयलबाट तानिएको पानी एक चरणमा गुरुङगाउँ स्थित ५० हजार लि. ट्याङ्कीमा पुग्नेछ भने त्याहाँबाट ओशकबारी स्थित ५० लि. को ट्याङ्कीमा पुराइने छ । मुख्य वितरणको लागी कालिका–मालिकामा निर्माण गरिएको २ लाख लिं क्षमताको ट्याङ्कीमा भने त्यसपश्चात पुराई उपभोक्ताको धारमा पानी पठाइने छ ।

तादीखोलाको पानीलाई नुवाकोटका उपभोक्तालाई वितरणको लागी तीन स्थानका मोटरबाट तानेर पुराइने भएकाले उपभोक्तालाई शुल्कमा भने थप जिम्मेवारी पर्ने देखिएको पानी वितरणको जिम्मेवारी रहेको ऐतिहासिक नुवाकोट दरबार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव कपिल डंगोलले जानकारी दिनुभयो ।

उक्त समस्यालाई आगामी दिनमा समाधानको लागी विकल्पको प्रयासमा समिति जुट्ने उहाँको भनाई छ । समवेयलबाट पानी तान्ने कार्यको परीक्षण सफल भएकाले अबको एकदुई साताभित्रै कार्य सम्पन्न हुने भएकाले नियमित पानी वितरण भने त्यसपछि हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

©2025 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web