वाणिज्य बैंकहरूको समग्र नाफा साढे ११ प्रतिशतले बढ्यो

माघ १५, २०८२ मा प्रकाशित
Published at माघ १५, २०८२

54 views

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वाणिज्य बैंकहरूको नाफा ११ दशमलव ५१ प्रतिशतले बढेको छ । २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरणअनुसार नाफामा सुधार आएको हो ।

गएको आर्थिक वर्षको पहिलो ६ महिनामा २० वटा वाणिज्य बैंकले गरी कुल २७ अर्ब ४३ करोड ६९ लाख नाफा कमाएकामा यो वर्षको त्यही अवधिमा बढेर ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।

२० वटा वाणिज्य बैंकमध्ये ११ वटाको नाफा बढेको छ । ८ वटाको नाफा घटेको छ भने लक्ष्मी सनराइज बैंक घाटामा गएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा सबैभन्दा धेरै नबिल बैंकले ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नबिलको यो नाफा गएको वर्षको तुलनामा ४६ दशमलव ७१ प्रतिशतले बढेको हो ।

प्रतिशतका हिसाबले भने कुमारी बैंकले सबैभन्दा धेरै फड्को मारेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा २७ करोड ५७ लाख नाफा गरेको कुमारी बैंकले यसपालि ८ सय ८६ दशमलव ४३ प्रतिशतको वृद्धि गर्दै २ अर्ब ७२ करोड रुपैयाँ पुर्‍याएको हो ।

सरकारी स्वामित्वमा रहेको नेपाल बैंकले नाफामा १ सय ८३ दशमलव ०४ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले १ सय ३२ दशमलव ०४ प्रतिशतले वृद्धि गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

©2025 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web