तारकेश्वरका अध्यक्ष अधिकारीबाट विद्यालयलाई ‘जुँगाको लडाइँ’को अखडा नबनाउन अपिल

कार्तिक २२, २०८२ मा प्रकाशित
Published at कार्तिक २२, २०८२

84 views

नुवाकोट । नुवाकोटको तारकेश्वर गाँउपालिका  अध्यक्ष शिव अधिकारी ‘अबिरल’ले शान्ति क्षेत्र विद्यालयलाई ‘जुँगाको लडाइँ’को अखडा नबनाउन अपिल गर्नुभएको छ ।

पछिल्ला केही दिनदेखि केही राजनीतिकर्मी व्यक्तिहरू समेतको संलग्नतामा कुन्ठा र पूर्वाग्रह प्रेरित स्वार्थ समूहहरुबाट गाउँपालिकाकै अग्रणी विद्यालयको रुपमा रहेको शंखादेवी माध्यमिक विद्यालयमा भइरहेको घटना प्रति अध्यक्ष अधिकारीले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै ‘जुँगाको लडाइँ’को रुपमा विद्यालयलाई प्रयोग नगर्नको लागी अपिल गर्नुभएको हो ।

उहाँले आज विज्ञप्ती जारी गर्दै गाउँपालिकाले पटक-पटक व्यवस्थापन समिति गठनका लागी गरेका प्रयासका बाबजुत विद्यालय व्यवस्थापन समिति गठन हुन नदिई अनेकक बखेडा झिकेर विद्यालयजस्तो पवित्र स्थानमा भइरहेको राजनीतिक प्रतिशोध र हुल हुज्जतका गतिविधि तत्कालै बन्द गर्न संलग्न पक्षलाई सचेत गराउनुभएको छ ।

उहाँले पटक पटक विद्यालयमा तालाबन्दी गर्ने कार्यबाट आजित भएर स्वयं विद्यार्थीहरू आफै प्रतिकारमा उत्रिनु पर्ने सम्मको परिस्थिती बन्नु खेदजनक मात्र नभई ‘गाउँको उन्नतिका लागि राजनीति गर्दै छु’ भन्नेहरूका लागि आफैँमा लज्जाको विषय नै भइसकेको विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।

शंखादेवी माविमा शिक्षाको गुणस्तर बृद्धि सहित पालिकाकै नमूना एंव गौरवको विद्यालयको रुपमा लिएर अघि बढिरहेको अबस्थामा भइरहेको राजनीतिक खिचातानी, पूर्वाग्राही र स्वार्थका खेलले विद्यालयको भविष्यनै अन्योल बनाएको भन्दै अध्यक्ष अधिकारीले चिन्ता जनाउनुभएको छ । उहाँले जारी गरेको विज्ञप्तीमा एसइईको परीक्षामा गाउँपालिकाकै उत्कृष्ट नतिजा हासिल गरेको र गाउँ कार्यपालिकाको बैठकले नै निणर्य गरेर प्राविधिक शिक्षालयको रूपमा विकास गर्न लागिएको विद्यालयलाई जुँगाको लडाइँ लड्ने अखडा नबनाउनको लागी सम्बन्धित सबै पक्षसंग अपिल गर्नुभएको छ ।

विद्यालय सञ्चालनका दौरानमा केही बिमती भएमा त्यसलाई शालीन र शान्तिपूर्ण ढङ्गबाट प्रकट गर्न र संवादबाटै विवादको समाधान गर्ने उत्तम विकल्प रहँदा रहँदै अहिले भइरहेका अराजक र उच्छृङ्खल क्रियाकलाप शिक्षाको विकास चाहने जो कोहीलाई पनि सह्य नहुने भन्दै अध्यक्ष अधिकारीले विद्यालय माथी भइरहेको अस्वभनीय घटनाले कलिला बालबालिकाको मानसपटलमा गम्भीर असर पर्ने र उनीहरुले गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउने अधिकारको समेत हनन् भएकाले सम्बन्धित पक्षहरुलाई यस विषयलाई गम्भीर रुपमा लिनको लागी स्मरण गराइएको छ ।

विद्यालयमा अहिले भइरहेका अस्वभनीय एव उच्छृङ्खल गतिविधिलाई आगामी दिनमा पनि जारी राख्दै कलिला बालबालिकाको मनोविज्ञानमा आघात पुर्याउने दुस्प्रयास गरेमा त्यसबाट पर्न जाने असरका लागि त्यस्ता व्यक्ति वा समूह स्वयं जिम्मेवार हुने र शान्ति क्षेत्रको रूपमा रहेको विद्यालयमा अशान्ति मच्चाउन खोज्ने जोकोहीमाथि फौजदारी कानुन आकर्षित गर्न बाध्य हुने अध्यक्ष अधिकारीले चेतावनी दिनुभएको छ ।

“लामो समयदेखि अख्तियारमा विचाराधीन रहेको मुद्धालाई समेत बारम्बार उचालेर व्यक्ति, संस्था र सरकार समेतको चरित्रहत्या गर्ने प्रयास भइरहेको घटनाक्रम भित्रका निहित स्वार्थ पनि आम तारकेश्वरवासी माझ छर्लङ्गै रहेकाले अनावश्यक बखेडा झिकेर विद्यालयमा फोहोरी राजनीति नगर्नको लागी सजग गराइएको छ ।” अध्यक्ष अधिकारीले जारी गरेको बिज्ञप्तीमा भनिएको छ । “बालबालिकाको भविष्यप्रति सचेत रहँदै यस्ता कुण्ठित स्वार्थ समूहको षड्यन्त्रलाई चिर्दै विद्यालयको उन्नयनका लागि एकजुट भएर लाग्नु हुन र यथाशक्य छिटो सम्भव भएसम्म सर्वसम्मतिमा, नभए लोकतान्त्रिक अभ्यास मार्फत बहुमतबाट विद्यालय व्यवस्थापन समिति गठन गर्नु हुन विद्यालय प्रशासन र अभिभावक वर्गमा हार्दिक अनुरोध गर्दछौं । अन्यथा, स्थानीय शिक्षा ऐनको व्यवस्था अनुरूप स्थानीय सरकारबाटै अन्तरिम विद्यालय व्यवस्थापन समिति गठन गर्न बाध्य हुने छौं ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.