तारकेश्वरमा अध्यक्ष अधिकारीको निर्देशनमा बजारमम छड्के अनुगमन, अधिकांशमा सुधार भेट्टियो 

कार्तिक २, २०८२ मा प्रकाशित | 436 views


नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)को निर्देशनमा सामाजिक पञ्जीकरण शाखाका कर्मचारी सहित गाउँ प्रहरीको टोलीले वडा नं २ को तारुकाघाट र वडा नं ४ को बुधासिंहका पसलहरूको छड्के अनुगमन गरेको छ ।

अनुगमनका क्रममा न्यून सङ्ख्यामा मात्रै म्याद गुज्रिएका, कुहिएका र बिग्रिएका खाद्य तथा पेय पदार्थ जफत गरिएको छ ।

विगतको तुलनामा कैफियत ज्यादै कम भेटिएकाले बजारमा उपभोक्ता अधिकारको अबस्था ‘सन्तोषजनक रहेको’ अनुगमन टोलीले जनाएको छ ।

अधिकांश पसलमा पसल सञ्चालकको बदनियत भन्दापनि अनधिकृत रूपमा म्याद गुज्रेका खाद्य तथा पेय पदार्थ सप्लाई गर्ने बिचौलियाहरूको झुक्याउने प्रवृत्तिको पाइएको छ । त्यस्ता कार्यमा संलग्नलाई कारबाहीको लागी पालिकाले गम्भीर कदम चाल्ने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

उहाँले त्यस्ता खाद्य पदार्थको बिक्री वितरणलाई शून्यमा झार्न समान खरिद गर्दा अधिकृत विक्रेता मार्फत एक्सपाइरी डेट हेरेर मात्र खरिद गर्न र पसलमा सामानको सुरक्षित भण्डारणको व्यवस्था गर्न व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ ।

स्थानीय सरकार ‘स्वस्थ र स्वच्छ व्यवसाय’को पक्षमा रहेको प्रस्ट पार्दै अध्यक्ष अधिकारीले जनस्वास्थ्यको संरक्षणका लागि स्वतःस्फूर्त ढङ्गले साथ सहयोग पुर्याउनु हुन व्यवसायी वर्गमा विषेश आग्रह गर्नुभएको छ ।

योसँगै, उहाँले गाउँपालिकामा व्यवसाय सूचीकृत गर्न बाँकी व्यवसायीले यथाशीघ्र सूचीकृत गर्न र ग्राहकले स्पष्ट देख्ने गरी सामानहरूको मूल्यसूची राख्न समेत आग्रह गर्नुभएको छ ।

विगतदेखि नै समय समयमा अनुगमन गर्दै आएको गाउँपालिकाले चाडपर्वको समयमा उपभोक्ताको अधिकार हनन् हुनसक्ने भएकाले अध्यक्ष अधिकारीको निर्देशनमा बजार अनुगमनलाई थप तिव्र बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web