
काठमाडौँ । यसवर्ष डेंगु संक्रमित ५ हजार नाघेका छन् । सन् २०२५ को सुरु अर्थात गत पुसको मध्यदेखि हालसम्म ५ हजार १९६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
७५ जिल्लामा डेंगु फैलिदा गत एक हप्तामात्र २९४ नयाँ संक्रमित थपिएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांक अनुसार गण्डकीमा १ हजार ३२७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी बागमती प्रदेशमा १ हजार १९१, लुम्बिनीमा ९११, कोशीमा ७३७, सुदूरपश्चिममा ६२२, कर्णालीमा २९६ र मधेशमा ११२ जनमा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य विज्ञहरूले वास्तविक संक्रमितको संख्या रिपोर्ट भएकाभन्दा धेरै हुन सक्ने बताउँछन् । ईडीसीडीले उपलब्ध तथ्यांक राष्ट्रिय प्रणालीमा रिपोर्ट भएको सरकारी तथ्यांक वास्तविक डेंगु संक्रमणको एक सानो भाग मात्र भएको हो ।
गत वर्षको तुलनामा यस वर्ष डेंगु संक्रमण उल्लेखनीय रूपमा कम भएको ईडीसीडीअन्तर्गत किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताए ।
यस वर्ष सङ्क्रमण ७५ जिल्लामा फैलिएको भए पनि कुनै एक ठाउँमा ‘हटस्पट’ जस्तो अवस्था देखिएको छैन ।
दाहालले यसलाई सकारात्मक संकेतको रूपमा व्याख्या गर्दै भने, ‘गत वर्षको अन्त्यतिर काठमाडौं जस्ता क्षेत्रमा एकदमै तीव्र डेंगु संक्रमण फैलिएको थियो । तर तर यसपाली त्यस्तो कुनै ठाउँमा नदेखिएकाले ठूलो प्रकोपको सम्भावना कम भएको संकेत गर्छ ।’