
काठमाडौ । शीतल निवासमा सम्पन्न छलफलमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुलाई ‘आफूले दबाब थेग्न नसकेको’ भन्दै अन्तरिम सरकार गठनको प्रक्रिया अघि बढेको जानकारी दिनुभएको छ ।
राष्ट्रपतिको भनाइ उदृत गर्दै दिइएको जानकारी अनुसार ‘अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीलाई हस्तान्तरण‘ गर्न लागेको जानकारी मुख्य दलका शीर्ष नेताहरुलाई गराई सहमति खोजिएको हो ।
आन्दोलनरत जेन-जी समूहबाट नयाँ सरकारको नेतृत्वका लागि सिफारिस हुनुभएको पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन काङ्ग्रेस सहित एमाले र माओवादी केन्द्र पनि सहमत भएका छन् ।
शीतल निवासमा मध्यरातसम्म चलेको छलफलमा राष्ट्रपति सहित सभामुख देवराज घिमिरे, प्रधानसेनापति, पूर्व प्रधानन्यायाधी शसुशीला कार्की, कानुनविद् ओमप्रकाश अर्याल लगायत सहभागी हुनुहुन्थ्यो ।
उहाँहरुबीचको वार्ता तथा मुख्य दलका शीर्ष नेतासंग भएको छलफलमा संसद् विघटनको विषयमा भने मतभेद कायम छ । संसद विघटनले दल र सांसद्को असक्षमता देखिई गलत सन्देश जाने भन्दै यस विषयलाई कुन संवैधानिक उपायबाट समाधान खोजिन लागिएको छ । यो कार्य शुक्रवार बिहानसम्म सम्पन्न गर्ने गरेर त्यसको जानकारी मुख्य तिन राजनीतिक दलका शीर्ष नेतालाई अवगत गराई सहमति लिइएको हो ।
यही सहमति कार्यान्वयन भएमा सुशीला कार्की महिलाको तर्फबाट प्रथम प्रधानमन्त्री (अन्तरिममन्त्रिपरिषद्को अध्यक्ष) बन्नुहुनेछ ।
17.12¡ÆC