विषम परिस्थितिमा नेपाली सेना परिचालन, नुवाकोटको जनजीवन सामान्य

भदौ २५, २०८२ मा प्रकाशित | 426 views


नुवाकोट । पछिल्लो राजनीतिक परिवेशबाट उत्पन्न भएको विषम परिस्थितिमा अवाञ्छित समूहले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने, लुटपाट तथा आगजनी गर्ने सम्भावना रहेको भन्दै नेपाली सेना परिचालन गरिएको छ। देशभर जस्तै नुवाकोटमा पनि नागरिकको दैनिक जनजीवन सामान्य बनाउन श्री बहादुर शेर गण, नेपाली सेना खटिएका छन् ।

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सर्वसाधारणलाई घरमै शान्तिपूर्वक बस्न र दैनिक जीवन सञ्चालन बाहेक कुनै पनि किसिमका भेला, जुलुस वा सभा जस्ता गतिविधिमा सहभागी नहुन नेपाली सेनाबाट आग्रह गरिएको छ।

नेपाली सेना लगायत जिल्ला स्थित सबै सुरक्षा निकायहरूको समन्वयमा जिल्लाको शान्ति, सुरक्षा र स्थायित्व कायम राख्ने दायित्वबोध सहित अहिले जिल्लाको अबस्था सामान्य बनाइएको छ । जिल्लाको मुख्य बजार क्षेत्रमा सैनिक परिचालन भएसगै आमनागरिकले सुरक्षा सुनिश्चितता महशुस गर्दै आफ्नो नियमित कार्यमा लाग्न थालेका छन् ।

अहिलेको विषम अबस्थाको मौका बनाई चोरी, डकैती वा लुटपाटजस्ता अवाञ्छित गतिविधि हुन सक्ने सम्भावना देखिएमा नेपाली सेना सहित सुरक्षा निकायमा जानकारी दिन पनि सर्वसाधारणलाई आग्रह गरिएको छ।

सुरक्षा निकायले अवस्था नियन्त्रणमा लिन आवश्यक सम्पूर्ण कदम चाल्ने र जनताको सुरक्षा सर्वोच्च प्राथमिकतामा रहेको भन्दै अहिले नुवाकोट सहित देशभर नेपाली सेना परिचालन भएको स्पष्ट पारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web