‘हाम्रो पात्रो’ ले दर्ताका लागि दियो निवेदन

भदौ २०, २०८२ मा प्रकाशित | 272 views


काठमाडौँ । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको निर्णयपछि ‘हाम्रो पात्रो’ ले दर्ताका लागि निवेदन दिएको छ । मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले सरकारले दर्ता नभएका सामाजिक सञ्जाल नेपालमा बन्द गर्ने निर्णयपछि हिजै हाम्रो पात्रोले सूचीकृत हुने प्रक्रियामा आउन निवेदन दिएको जानकारी दिनुभयो ।

सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले अदालतको अवहेनासम्बन्धी मुद्दामा २०८० साल वैशाख १२ मा स्वदेशी तथा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्मलाई सञ्चालन पूर्व अनिवार्य सम्बन्धित निकायमा सूचीकरण गर्न नेपाल सरकारको नाममा आदेश दिएको थियो । यो आदेश पालना गर्दै मन्त्रिपरिषद्को यही भदौ ९ गतेको बैठकले नेपालमा सामाजिक सञ्जाल सञ्चालन गर्ने इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले सूचीकृत हुन आह्वान गरेको थियो ।

नेपाल सरकारले जारी गरेको सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्न बनेको निर्देशिका–२०८० बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्नो प्लेटफर्मको सूचीकरणका लागि त्यही निर्देशिकाका अनुसूची १ बमोजिमको ढाचाँमा तोकिएको कागजातहरु संलग्न गरी सात दिनभित्र निवेदन दिन भनेको थियो ।

मन्त्रालयले निवेदन दिँदा इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी, स्वनियम परिपालनको निगरानी अधिकारीसमेत तोक्ने सार्वजनिक सूचना प्रकाशन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web