विदुरमा अति विपन्न नागरिक स्वास्थ्य बीमा सुरु, २६०० नगरबासी लाभान्वित

भदौ ८, २०८२ मा प्रकाशित | 323 views


नुवाकोट । विदुर नगरपालिकाले अति विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गरेको छ । नगरभित्रका ६७२ परिवारमा आबध्द २६०० नागरिक यस कार्यक्रममार्फत लाभान्वित हुने भएका छन् ।

प्रमुख अतिथि नगरप्रमुख राजन श्रेष्ठले विपन्न, दलित र सिमान्तकृत समुदायलाई स्वास्थ्य सेवामा सहज पहुँच दिन बीमा महत्वपूर्ण माध्यम भएको बताउनुभयो । उहाँले स्वास्थ्य उपचारलाई आर्थिक भार होइन अधिकारका रूपमा स्थापित गर्न बीमा योजनाले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नगरप्रमुख श्रेष्ठले यस कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउँदै विगतमा नगरपालिकाले विद्यार्थी दुर्घटना बीमा गराएको थियो, आगामी दिनमा थप लाभदायक कार्यक्रम ल्याउने योजना रहेको बताउनुभयो ।

त्यस्तै, उपप्रमुख प्रभा बोगटीले विपन्न नागरिक उपचार खर्चका कारण थप समस्यामा नपर्ने गरी कार्यक्रमलाई प्रभावकारी बनाइने बताउनुभयो । उहाँले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन नगरपालिकाले आवश्यक स्रोत परिचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्वास्थ्य बीमामार्फत प्रत्येक बीमित परिवारले वार्षिक निश्चित रकमसम्मको उपचार खर्च पाउनेछन् । यसबाट सामान्य उपचारदेखि जटिल रोगको अस्पताल सेवा लिँदा पनि राहत पुग्ने अपेक्षा गरिएको बीमा अधिकृत सन्तोषी बोगटीले जानकारी दिनुभयो । उहाँको अनुसार यस कार्यक्रमले विषेश गरेर गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगी नागरिकलाई विशेष लाभ पाउनेछ । 

कार्यक्रममा नगरप्रमुख श्रेष्ठले वडा नं ५ का लाभग्राहीको बीमा परिचयपत्र एकमुष्ट हस्तान्तरण गर्नुभयो । बिमितको बिमा कार्यक्रम भदौ १ गतेबाट नै लागू भएकाले अब सेवा लिन पाउने नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामराजा भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद प्याकुरेल , वडा नं. १ का अध्यक्ष लेनिन रञ्जित, वडा नं. २ का दिपक कायस्थ, वडा नं. ५ का लिलानाथ न्यौपाने, वडा नं. ९ का हरेराम भण्डारी, वडा नं. १० का गणेशकुमार नेपाल, वडा नं. ११ का बाबुराम तामाङ, वडा नं. १३ का भरत तामाङ, स्वास्थ्य शाखा प्रमुख राजाराम भण्डारी, बिमा कार्यालय नुवाकोट प्रमुख रोशन बराल, बीमित सेवाग्राही तथा  बिमा दर्ता सहयोगी सहित दुईसय भन्दाबढीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web