अध्यक्ष अधिकारीद्वारा मानेडाँडा–दाङसिङ र भवनडाँडा–सिम्ले सडकको स्थलगत निरीक्षण

साउन १६, २०८२ मा प्रकाशित | 315 views


नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले द्रुत गतिमा मर्मत भइरहेका मानेडाँडा–दाङसिङ र भवनडाँडा–नेवारपानी–सिम्ले–ढाँडाखर्क–दाङसिङ सडक खण्डको स्थलगत निरीक्षण गर्नुभएको छ । वर्षायाममा आवागमन सहज बनाउन अध्यक्ष अधिकारीको निर्देशनमा गाउँ प्रहरीसहितको टोलीले कच्ची नाली निर्माण र अस्थायी ग्राभेल प्रयोग गर्दै मर्मत कार्य तीव्र पारेको हो ।

सडकमा वर्षाले सिर्जना गरेका असहज परिस्थितिलाई व्यवस्थापन गर्न गाउँपालिकाले स्काभेटरसहितको मर्मत टोली स्ट्यान्डबाईमा राखेको छ । अध्यक्ष अधिकारीले कुनै पनि स्थानमा बाढी वा पहिरोका कारण अवरोध भएमा स्थानीय स्तरमै सकिने मर्मत तत्कालै गर्न र असम्भव भएमा तुरुन्त गाउँपालिकालाई खबर गर्न सबै तारकेश्वरवासीलाई आग्रह गर्नुभएको छ ।

उहाँले ससाना अवरोध र भूक्षय भएका स्थानहरूको समयमै मर्मत गरेमा ठुलो क्षति हुनबाट जोगिन सकिने र वर्षायाममा पनि यात्रा सहज हुने भएकाले लगातार मर्मत कार्य भइरहेको जानकारी दिनुभयो ।

निरीक्षणका क्रममा स्थानीयवासीहरूले विगतमा ठूलो क्षति भएपछि मात्र मर्मत सुरु हुने प्रवृत्तिका कारण महिनौं सडक बन्द हुने अवस्था आएको भन्दै अहिले वर्षाकै बीच मर्मत कार्य जारी रहँदा सडक वर्षैभरि सञ्चालनमा आउन थालेकोमा खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web